ब्रेकिङ स्टोरी

डा. ढाकाकुमार श्रेष्ठले रास्वपाका नेताहरुमाथि लगाएको आरोपबारे अनुसन्धान सुरु भइसक्यो : सचेतक परियार

By खबरहब

September 14, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरुमाथि उठाएका विषयमा गम्भीर रुपमा अनुसन्धान सुरु गरेको बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक परियारले श्रेष्ठले पार्टीका नेताहरुमाथि लगाएको आरोपबारे गम्भीर रुपमा अनुसन्धान भएको भन्दै सत्यतथ्य प्रमाणित भए कारवाही हुने बताए ।

उनले जिम्मेवार पार्टी भएकाले श्रेष्ठले राखेका कुरालाई पार्टीले गम्भीर रुपमा लिएको र अनुसन्धानमा कुनै व्यक्ति विशेषको नाम आएपनि अनुसन्धान नरोकिने जिकिर गरे ।

रास्वपाबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर मन्त्री बनाउन ३ करोड रुपैयाँ माग गरेको बताएका थिए ।

श्रेष्ठको अभिव्यक्तिपछि रास्वपाले यसअघि नै ३ करोड प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर आउन आव्हान समेत गरिसकेको छ ।