ब्रेकिङ स्टोरी

बालकृष्ण खाणको मुद्दामा बहस सकियो

By खबरहब

December 14, 2023

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको पुनरावेदन मुद्दामाथि बहस सकिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणको उच्च अदालत पाटनमा पुनरावेदनमाथि सुनुवाइ भएको थियो ।

खाणलाई छाड्ने या थुनामै राख्नेबारे दुई न्यायाधीशको मत बाझिए पछि आज तेस्रो न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ भएको हो ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो ।

१५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।

उच्च अदालत नियमावली तथा ऐनबमोजिम तेस्रो न्यायाधीशको इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठीक भन्ने आदेश गरेपछि खाणको हकमा टुंगो लाग्नेछ ।

पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए । तर, खरेलले उनको संलग्नता अरु सरहनै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशकोमा पुगेको हो ।