सांकेतिक तस्बिर

समाचार

महिलाको शव शंकास्पद अवस्थामा फेला

By खबरहब

February 15, 2023

बारा – निजगढ नगरपालिका वडा नम्बर १२ बुङ्गजोरमा ४ दिनदेखि बेपत्ता स्थानीय कान्छिमाया घलानको शव शंकास्पद अवस्थामा फेला परेको छ।

गत शनिबार बेपत्ता ७१ वर्षीया घलानको शव मंगलबार घर नजिकैको बुङ्गजोर खोला छेउमा रुखको स्याउलाले छोपेको अवस्थामा फेला परेको हो।

स्याउलाले छोपेको अवस्थामा शव देखेपछि स्थानीयले खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सन्जिव ओलीले जानकारी दिए।

मृतक घलानको परिवारमा श्रीमानसहित २ छोरा छन्। श्रीमान गाउँमै अर्को घरमा बस्ने र जेठो छोरा भने रोजगारीको क्रममा सिमरामा छन्।

यसैबीच कान्छो छोरालाई मकवानपुर प्रहरीले हेटौडाबाट नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ।