फाइल तस्वीर

राजनीति

प्रदेश नं १ को प्रदेशसभा बैठक सम्पन्न  

By खबरहब

February 15, 2023

मोरङ– प्रदेश नं १ प्रदेशसभाको आज सम्पन्न  बैठकले  केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ ’लाई  सर्वसम्मतिले स्वीकृत गरेको छ ।  प्रदेशसभा नियमावली, २०७९ (पहिलो संशोधन) को नियम ८१ को उपनियम ९४० बमोजिम आन्तरिक मामिला तथा कानुनमन्त्रीका तर्फबाट सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सो प्रस्ताव पेस गरेका थिए ।

 विशेष समयमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य गोपाल तामाङले नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका दुर्गा प्रसाईँले झापामा संघीयता विरोधी कार्यक्रम गरेको आरोप लगाउँदै  त्यस विषयमा सदनको ध्यानाकर्षण गराए । 

प्रदेशसभा सदस्य एकराज कार्कीले सांसद पूर्वाधार विकास कार्यक्रमका लागि  आवश्यक रकम उपलब्ध गराउन सरकारसँग आग्रह गरे । सदस्य किशोरचन्द दुलालले तमोर करिडोरमा निर्माण भइरहेको पुल विगत १० वर्षमा ४० प्रतिशत मात्र निर्माण भएकाले  यसलाई दु्रत गतिमा सम्पन्न गराउन सरकारको ध्यान जानुपर्ने बताए । सदस्य पञ्चकर्ण राईले  साझा सहमतिमा प्रदेशको नामाकरण गर्नुपर्नेमा जोड दिए ।

सदस्य भूमिप्रसाद राजवंशीले कचनकवल नमुना पर्यटकस्थल निर्माणका लागि छुट्याइएको बजेट सदुपयोग हुनुपर्नेमा जोड दिए । सदस्य मैया श्रेष्ठले प्रदेश सरकारले आगलागी रोकथामका लागि पूर्वतयारी गर्न र  पहाडी तथा ग्रामीण जिल्लामा बारुणयन्त्रको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराइन् । यस्तै सदस्यहरू रमेशकुमार बस्नेतले इलाम–डडेलधुरा मदनभण्डारी राजमार्ग निर्माण कार्यमा भइरहेको अवरुद्ध हटाउन संघीय सरकारले समन्वय गर्नुपर्नेमा जोड दिए । सदस्य राजन किरातीले उदयपुरको बेलका नगरपालिका–३, ८, ९ मा रहेका एक हजार पाँच सय घरलाई कोसी कटानबाट जोगाउन अविलम्ब बाँध निर्माण गर्न ध्यानाकर्षण गराए । अर्का सदस्य राधाकृष्ण खनालले भूमिहीन किसानलाई धनीपुर्जा सुनिश्चित गर्न माग गरे ।

सदस्यहरू  सदस्य शमशेर राईले सदनको कार्यसूची २४ घण्टा अगाडि उपलब्ध गराउन, शोभा चेम्जोङ्गले प्रदेश सरकारप्रति जनताको अपनत्व जगाउन स्वास्थ्य उपचार, कृषिमा आधुनिकीकरण  तथा  यान्त्रिकीकरण र घर घरमा चुल्हो बाल्ने व्यवस्था गर्न, सदानन्द मण्डलले सुनसरीको रामधुनी नगरपालिका-४ मा हालै भएको आगलागी करोडौँ रकमको बाख्रा फार्म जलेर नष्ट भएकाले उचित क्षतिपूर्ति उपलब्ध गराउन,  सिर्जना राईले प्रदेश सरकारले गरेको कार्यलाई जनतासमक्ष जानकारी गराउन र  होमबहादुर थापाले दीर्घरोगीलाई सहयोग उपलब्ध गराउन माग गरे ।

सभामुख बाबुराम गौतमले प्रदेशसभाको अर्को बैठक फागुन ६ गते दिनको ११ बस्ने  जानकारी गराए ।