पछिल्लो समय फेरिएको जीवनशैली र खानपानले मानिसको स्वास्थ्य बिग्रदै गएको छ। सुरुसुरुमा पाको उमेरका व्यक्तिमा मात्र देखिने स्वास्थ्य समस्या युवामै देखिन थालेका छन्। नेपालमा मुटु सम्बन्धी समस्यासमेत बढ्दै गएको छ। सुविधासम्पन्न अस्पताल र चिकित्सकको संख्या पर्याप्त भए पनि यो समस्या बढ्दै गएको पाइन्छ। एउटा समय थियो जहाँ एक जना पनि मुटु सम्बन्धी चिकित्सक नै थिएनन्। डा. अवनीभूषण उपाध्याय रसियामा पढेर नेपाल फर्कनुभएका पहिलो मुटु चिकित्सक हुन्। २००८ सालमा काठमाडौंको पुतलीसडकमा जन्मिएका उनले २०३५ सालदेखि वीर अस्पतालबाट स्वास्थ्य सेवा सुरु गरेका हुन्। मुटुरोग विशेषज्ञ डा. अवनीभूषण उपाध्यायसँग जीवन भोगाई, नेपालको स्वास्थ्य प्रणाली, मुटु रोगको समस्या र स्वास्थ्य जीवनका विषयमा नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :
स्वास्थ्य मुटु बनाउनको लागि हामीले के गर्नुपर्छ ? मुटु रोग बढ्दै गएको छ। युवा पुस्तामा यो रोग बढ्दै गएको छ। हामीले सुरु गर्दा ५०-६० वर्षको व्यक्तिलाई देखिन्थ्यो भने अहिले ३०-४० मा नै यो समस्या देखिएको छ। मैले १९ वर्षको वीरगन्जको युवकलाई औषधि गरेको छु।
मुटु सम्बन्धी समस्या हुनुको कारण के हो ? यो जीवनशैली खानपिनका कुरामा ख्याल गर्नुपर्ने सवाल बनेको छ। माछा मासुको चलन धेरै आयो। सागसब्जी, फलफूल खाने कम भएको छ। चिल्लो पदार्थ बढी खाने चलन बढेको छ। गुलियो बढी खाने, नुन बढी खाने र अहिले हाम्रो खानाको कुनै अनुशासन नै छैन। पहिला खानाको अनुशासन थियो। दालभात तरकारी खाने दिउँसो एक पटक खाजा खाने बेलुका खाना खाने हो। पहिला पहिला माछा मासु कम हुन्थ्यो। यसको अर्को मुख्य कारण धूम्रपान हो। धूम्रपानले स्वास्थ्यलाई ज्यादै अफ्ठेरो अवस्थामा लगेको छ। अर्को असाध्य तनावपूर्ण जिन्दगी रहेको छ। बिना तनाव उन्नति पनि हुँदैन। अहिलेको समयमा यो तनावलाई कसरी कम गर्ने भन्ने विषयमा केन्द्रित हुनुपर्ने देखिन्छ। कसरी हुन्छ तनावलाई काम गर्ने बाटो खोज्नुपर्छ।
मुटु सम्बन्धी प्रारम्भिक लक्षण, मध्यम लक्षण, अन्तिमको लक्षण कुनै घात गर्ने लक्षण के के हुन् सक्छन् ? मुटुको बिना लक्षण पनि समस्या आउनसक्ने हुन्छ। हाम्रो ओजन धेरै छ, मधुमेह छ, कोलेस्ट्रोल छ, युरिक एसिड बढिरहेको छ, तनाव ग्रस्त पेसा छ र वंशानुगत गुण छ भने यो समस्या हुनसक्छ। यस्ता व्यक्तिले वर्षमा एक पटक चेकअप गराएर हेर्दा राम्रो हुन्छ। धपेडी भएमा छाती भारी भएर आउने दुख्ने हुन्छ। सास फेर्न असहज हुने, त्यसले कहिलेकाहीँ दाँत दुख्छ। समस्या बढ्दै गएमा ध्यान दिनुपर्छ। समय नै मुटुको मसल हो। आफूलाई शंका लाग्ने बित्तिकै अस्पताल जानु ठिक हुन्छ। लुकाएर राख्ने काम गर्नु हुँदैन। लक्षणलाई थाहा पाउनु नै अति आवश्यक रहन्छ।
बेला बेलामा केही नगर्दा पनि मुटु धड्कने अवस्थालाई के भन्ने ? त्यो छुट्टै रोग नै छ। दैनिक व्यायाम गर्ने मान्छेमा त्यो हुँदैन। व्यायाम कम गर्ने मान्छेको स्वासप्रश्वासमा समस्या रहेको हुन्छ। त्यो साधारण हो। तर बसेको समयमा एक्कासी धड्कन बढ्नु मुटुको माथिल्लो भाग छिटोछिटो चल्ने भएमा अस्पताल गइहाल्नु पर्ने हुन्छ। त्यो सास बढ्नुमा पनि अन्य कुनै रोगको कारण हुनसक्छ। यसको मुख्य समस्या भनेको मोटोपना नै हो।
मुटुलाई बचाउनको लागि के खानुपर्छ ? बिहान उठ्ने बित्तिकै आफ्नो लागि एक घण्टा छुट्टाउनुपर्छ। त्यो समयमा व्यायाम गर्नुपर्छ। त्यसपछि आफ्नो काम गर्नुपर्छ। बिहान हलुका खाना खानु राम्रो हुन्छ। त्यसमा खाना कम र सागसब्जी तथा गेडागुडी बढी खानुपर्छ। दिउँसो हलुका नास्ता तथा फलफूल खानुपर्छ। हामीले प्रोटिन बढी र कार्बोहाइड्रेट कम भएको खाना खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। सकेसम्म तारेको चिजहरू नखानु उत्तम मानिन्छ।
तपाईंको पढाइको सुरुवात कसरी भएको थियो ? म काठमाडौँ पुतली सडकमा जन्मिएको हुँ। कक्षा ५ देखि जुद्धोदय पब्लिक हाई स्कुलमा अध्ययन गरेको हुँ। यो विद्यालय काठमाडौंको राम्रो विद्यालयको रूपमा चिनिन्थ्यो। त्यही भएर बुवाले मलाई त्यही भर्ना गरिदिनुभएको थियो।
कक्षा ५ मा भर्ना हुनुअगाडि शिक्षा कहाँ लिनु भएको थियो ? घरमा नै शिक्षा आर्जन गर्ने वातावरण मिलेको थियो। एक जना गुरुले नेपाली र गणित पढाउनु हुन्थ्यो। अर्को गुरुले अंग्रेजी र अन्य विषय पढाउने गर्नुहुन्थ्यो। सुरुबाट नै घरमा पढेको थिएँ। गुरुको माध्यमबाट नै सिक्ने मौका घरमा पाएको थिएँ।
उच्च शिक्षाको लागि कहाँ पढ्नु भयो ? त्रिचन्द्र कलेजमा आईएसीसम्मको अध्ययन गरेको हुँ। त्यसपछि एउटा अवसर पाएर रसिया पढ्न गएँ। त्यो समयमा अहिले जस्तो प्रतिस्पर्धा थिएन। म एक हिसाबले भन्ने हो भने भाग्यले त्यहाँ पढ्न पुगेको हुँ।
रसियामा सहपाठीको रूपमा तपाईंसँग कोको हुनुहुन्थ्यो त्यो समय ? वरिष्ठ छाती रोग विशेषज्ञ दीर्घसिंह बम हुनुहुन्थ्यो। गीतकार, नाटककार तथा अन्य पक्षमा उहाँ कार्यरत हुनुहुन्थ्यो।
तपाईं रसियाबाट पहिलो व्यक्ति हो जुन मुटु रोग विशेषज्ञ हासिल गर्ने ? त्यो सत्य हो। रसियाबाट फिजिसियन भएर आउने नै पहिलो व्यक्ति हुँ। त्यसमा मुटु रोग विशेषज्ञ भनेको म नै हो। त्यस बेलामा पढाई नै कम हुने कारण कोटा पनि कम र पढ्ने मान्छे पनि कम भएको कारण होला मैले अवसर पाएको।
रसियाबाट नेपाल आएर सेवामा लाग्न कतिको सहज थियो ? त्यति गाह्रो थिएन। चिनेको मान्छे भएमा सहज थियो। स्थायीको लागि समय लाग्थ्यो तर अस्थायीको लागि भने सहज नै थियो। स्थायी भएर भक्तपुर, जनकपुर, उदयपुर जस्ता अन्य विभिन्न ठाउँमा पुगेर काम गरेको अनुभव छ।
सरकारी र गैरसरकारी अस्पतालमा सेवाको भावना फरक पाइन्छ भन्छन् के यो कुरा सत्य हो? यसलाई म सत्य मान्दिन। किन भन्दा त्यो आआफ्नो शैली तथा तरिका रहेको हुन्छ। त्यसमा फरक पर्न जान्छ। त्यो डाक्टरको लागि पनि सहज भने छैन। सेवा लिन आउने व्यक्ति पनि नबुझ्ने भएको कारणले पनि असहज भएको हो जस्तो मलाई लाग्छ। सबै चिकित्सकलाई एउटै डालोमा हाल्न मिल्दैन।
मुटुसँग सहयात्रा पुस्तक लेख्नुको कारण के हो ? नेपालमा मुटु रोगको उपचार भन्दा पनि बचाउने काम महत्त्वपूर्ण पक्ष हो। म क्याबिनेटको डाक्टर हो। गंगालाल अस्पतालका लागि धेरै सक्रिय भएर काम गरेको हुँ। त्यो संसद्को सुविधाको लागि प्रयोगमा ल्याउने जग्गा रहेछ। त्यसको लागि नेताको घरमा पनि धाइयो। त्यसपछि मात्र सफल भएको हो। कामको क्षेत्रको लागि विभिन्न पक्षमा आधारित भएर कार्य गरेको कारण कोरोनाको समयले साथ दिएको हो। पुस्तकमा जीवनको भोगाइ, नेपाली समाज र समयलाई समेटिएको छ।
यो पुस्तक कसको लागि लेख्नुभयो ? यसमा मेरो मात्र कथा छैन। नेपालमा मुटु रोग सम्बन्धी सुरुवात कसरी भयो त्यसको बारेमा विभिन्न सवाललाई उठान गरेको छु। यो आफ्नो लागि र देशको लागि नै हो। त्यसले सकारात्मक सन्देश दिएको छ जस्तो मलाई लाग्छ। यो रोचक पुस्तक छ।
मुटु रोगको समस्या देखिएपछि तत्कालीन राजा वीरेन्द्रले अस्पताल जान किन अस्वीकार गर्नुभयो ? राजालाई त्यो समय हृदयघात भएपछि अस्पताल जान मान्नु भएन। राजा जस्तो मान्छेलाई उपचार त सही रूपमा गर्न लगाउनुपर्ने भयो। उहाँको उपचार गोप्य रूपमा गराइएको हो। काठमाडौंमा नै उपचार भएको हो। उहाँ नमानेपछि उपचारका लागि बेलायत पठाइएको हो।
राज परिवारको सदस्यलाई उपचार गर्दाको रमाइलो वा चिन्ता कस्तो हुने रहेछ ? डाक्टर भएर गएपछि साधारणतया परिस्थिति फरक हुन्छ। अन्यलाई उपचार गर्दा आरामले गर्न पाइन्छ। राज परिवारको उपचारमा त्यो भने हुँदैन। अलिअलि तनाव हुन्छ। तर डाक्टर र बिरामीबीच मैले केही फरक देखिन। किनकी उहाँहरुलाई प्रत्यक्ष उपचार गर्दा उहाँहरुको स्वभाव एकदम मलिन शालीन भएको पाएँ। डाक्टरलाई हेला गर्ने, हेप्ने केही पनि पाइन। डाक्टरलाई सम्मान गरेर नै बोलेको तथा सरल रूपमा प्रस्तुत भएको पाएँ। यत्ति भए पनि राज परिवारका सदस्यको उपचार गर्नु एक प्रकारको चुनौती नै हो।
मुटुको रोगको उपचार गरेको तीन वर्षपछि दरबार हत्याकाण्ड भयो। यस विषयमा तपाईंलाई के जानकारी छ ? बिहानको समयमा नै म त्यहाँ पुगेको थिएँ। त्यो घटना भएको राति नै थाहा पाएको थिएँ। त्यो जुन दिन जेठ १९ गते हाम्रो मेडिकल अस्पतालको जग्गा मेडिकलको नाममा पास भएको थियो। यो घटना ठूलो दुर्घटना हो जस्तो लाग्छ।
त्यो समयमा हत्यामा परेका व्यक्तिको शरीरको अवस्था कस्तो रहेको थियो ? जीवित भएका मात्र मैले जाँचेको हो। त्यो स्थानमा हेर्न नसकिने अवस्था थियो। मानिसको मरण भनेको त्यो हेर्न तथा देख्न पनि कसैले चाहेको थिएन जस्तो मलाई लाग्छ। त्यो हत्याकाण्ड दर्दनाक नै रहेको जस्तो मलाई लाग्छ। मलाई नै त्यो घटना सम्झन पनि मन लाग्दैन। राज परिवारसँगको मेरो सम्बन्ध त्यो घटना भन्दा पहिलो धेरै राम्रो रहेको थियो। त्यो परिवारसँग नजिक भइसकेको थिएँ। त्यसमा नराम्रो त अवश्य नै लाग्यो। त्यो देशको लागि नै हुनु नहुने घटना थियो। त्यो भयानक घटना हो। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ताको सम्पादित अंश) प्रस्तुति : कुसुम गौतम