समाचार

नेपालमा साइकल कानुन बनाउनुपर्नेमा जोड

By खबरहब

May 15, 2023

काठमाडौँ – देशभरका साइकल संस्थाका समूह तथा साइकलप्रेमीले नेपालमा साइकल कानुन बनाउनुपर्नेमा जोड दिएका छन्।

धुलिखेलमा आइतबार सम्पन्न दुई दिने कार्यशालामा देशभरका साइकल संस्थाहरू, साइकल अभियानका अगुवा तथा नियमित साइकल प्रयोगकर्ता चार दर्जन बढी प्रतिनिधि तथा साइकल प्रेमीको सहभागिता रहेको थियो ।

सहभागीहरूले साइकल समुदाय र साइकल अभियानका सबल, दुर्बल, अवसर, जोखिम आदि विविध समस्याहरूमाथि छलफल गरेका थिए । समस्याहरूमाथि गहन छलफलपश्चात् समस्याको रणनीतिक समाधानार्थ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा अघि बढाउने प्रस्ताव सर्वसम्मत पारित गरिएको छ ।

साइकल संस्कृति अभियानको संयोजकत्वमा नेपाल साइकल सोसाइटी, साइकल सिटी नेटवर्क नेपाल, हिमालय राइडर्स सोसाइटी, बारा राइडर्स क्लब, साइकल साथी सैनामैना, फारवेस्टर्न राइडर्स, नेपालगन्ज साइक्लिङ क्लब, साइकल सिटी पोखरा, साइकल सिटी भैरहवा, चितवन साइक्लिङ राइडर्स क्लब, वीरगन्ज साइक्लिङ राइडर्स क्लबको आयोजना तथा ललितपुर महानगरपालिकाको प्रायोजनमा कार्यशाला आयोजना गरिएको थियो ।