समाचार

धनुषामा सडक सुरक्षा सप्ताह सुरु

By खबरहब

May 15, 2023

धनुषा – जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आजदेखि सडक सुरक्षा सप्ताह सुरु गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा सप्ताह सुरु गरिएको हो ।

‘हर प्रहरी गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ सुरु भएको सडक सुरक्षा सप्ताहमा चालकलाई सडक सुरक्षाको विषयमा सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर साहले बताए ।

शान्तिपूर्ण एवं सुरक्षित यात्राका लागि सोमबारदेखि सुरु गरिएको सडक सुरक्षा सप्ताह २०८० कार्यक्रम जेठ ७ गतेसम्म आयोजना गरिने निरीक्षक साहले बताए ।

आज सडक सुरक्षा सप्ताहको पहिलो दिन मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराई, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालगायतले सडक दुर्घटना न्यूनीकरण र सडक सुरक्षाबारे आआफ्नो धारणा राखेका थिए।