राजनीति

एमाले सबै प्रकारका भ्रष्टाचार छानबिन गर्न तयार : महासचिव पोखरेल

By खबरहब

May 15, 2023

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात रहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शरणार्थी प्रकरण ठगी मात्र नभएर राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अपमान भएको बताए ।

“नेपाल राष्ट्र आफैँ मानव तस्करीका लागि काम गर्दछ भन्ने जुन प्रकारको सन्देश गएको छ, त्यो राष्ट्रका लागि लज्जाको विषय भएको छ,” उनले भने ।

बदमासी एउटाले गर्ने सङ्केत अर्कोतिर देखाउने काम भइरहेको भन्दै उनले अपराधमा जो–जो संलग्न रहेका छन्, तिनीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राखे ।

शरणार्थी प्रकरणसम्बन्धी घटनामाथि भइरहेको छानबिनलाई राजनीति नगर्नसमेत महासचिव पोखरेलले आग्रह गरे। उनले मुलुकलाई सुशासनतर्फ लैजानका लागि सबै प्रकारका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताए ।