राजनीति

प्रतिनिधिसभा बैठक : सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

By खबरहब

June 15, 2023

काठमाडौँ– सांसदहरुले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्  । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै न्यूनीकरणका लागि ध्यानाकर्षण गराए । 

सांसद शिशिर खनालले नेपालमा सडकमा हुने दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको बताए । ‘पछिल्लो एक दशकमा १९ हजारले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । जुन १० वर्षीय सशस्त्रद्वन्द्वमा मारिनेकोभन्दा बढी सङ्ख्या हो’, उनले भने, ‘गत वर्ष भएका २४ हजारभन्दा बढी सवारी दुर्घटनाको ९० प्रतिशत कारण चालकको लापरबाही देखिएको छ ।’ उनले चालक लाइसेन्सको प्रणाली र सुरक्षित ड्राइभिङको संस्कृतिमा सुधार गर्नुपर्नेमा जोड दिए । 

सांसद सिता मिजारले सवारी दुर्घटनाको तथ्यांक प्रस्तुत गर्दै यसको न्यूनीकरणमा सरकार गम्भीर हुनुपर्ने बताइन् । सांसद सुशीला श्रेष्ठले भुस्याहा कुकुरका कारण सवारी दुर्घटना बढेको बताइन्। उनले पैदल यात्रीलाई कुकुरको आक्रमणले असुरक्षित बनाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद स्वर्णीम वाग्लेले सवारी दुर्घटनामा तत्काल उद्धारका लागि सरकारको तयारीमा थप सुधार गर्नुपर्ने बताए। उनले सार्वजनिक संस्थाको क्षयिकरणको विषयमा सरकारको ध्यानाकर्षण गराए। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पदपूर्ति र संस्थाको सम्पत्ति जर्गेना गर्नका लागि उनले जोड दिए।

सांसद सन्तोष परियारले विश्वविद्यालयका शिक्षकमाथि हुने भौतिक आक्रमण र हमलाप्रति सरकारको ध्यानाकर्षण गराए। सांसद हरि ढकालले रामपुर कृषि विश्वविद्यालय तत्काल सञ्चालन गर्न माग गरे । 

सांसद हितराज पाण्डेले आन्दोलनरत विद्यालयस्तरका कर्मचारीको जायज माग सम्बोधन गर्न माग गरे। सांसद सूर्य थापाले सार्वजनिक विद्यालयका कार्यालय सहयोगीका जायज माग पूरा गरी नियमित काममा फर्काउन माग गरे । 

सांसद सुमना श्रेष्ठले बालमन्दिर आयोगको प्रतिवेदन छलफलमा राख्नुपर्ने माग गर्दै राजनीतिक संरक्षणमा हुने अनियमितताप्रति प्रश्नसमेत गरिन्। सांसद सोनु मुर्मुले मोरङ जिल्लाका सन्थाल बालबालिकाका लागि विद्यालयमा सहज पठनपाठनको व्यवस्था गर्न ध्यानाकर्षण गराइन् । सांसद बीना लामाले विद्यार्थीलाई यातना दिने विद्यालय र शिक्षकलाई कारबाही गर्न माग गरिन्  । 

बैठकमा बिजुला रायमाझीले वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी ठोस योजना नल्याएको भन्दै आलोचना गरिन् । सांसद विद्या भट्टराईले पोखरा महानगरपालिकामा ढल निकास तथा वर्षायामको पानीको उचित व्यवस्थापन गर्नतर्फ ध्यानाकर्षण गराइन्। उनले यसको दीर्घकालीन समाधानका लागि बृहत् योजना बनाई काम गर्न माग गरिन्। 

सांसद बिनिताकुमारी सिंहले चुरेपर्वतको ढुङ्गा, बालुवा तथा गिट्टी उत्खनन गरी भारतलाई निकासी गर्ने कार्य तत्काल रोक गर्न माग गरिन् । सांसद विराजभक्त श्रेष्ठले नीतिगत भ्रष्टाचारको अवस्था भयावह बन्दै गएको भन्दै समयमा प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्नतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

 उनले सङ्घ, प्रदेश हुँदै स्थानीय तहमा नीतिगत भ्रष्टाचार फैलिएको भन्दै यसलाई अनुसन्धानको दायरामा समेट्नुपर्नेमा जोड दिए ।