मुम्बई– बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन भएको छ । ७७ वर्षीय महाजनी उनी बस्दै आएको फ्ल्याटमा मृत फेला परेका हुन् । घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले फ्ल्याटको ढोका खोल्दा रविन्द्र मृत अवस्थामा भेटिएका थिए।
रवीन्द्रको मृत्यु दुई-तीन दिन अघि भएको हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे महाजनीका आफन्तलाई जानकारी गराइएको छ । रविन्द्रले हिन्दी सिनेमासँगै मराठी फिल्ममा पनि काम गरेका थिए ।
उनलाई मराठी फिल्म उद्योगका विनोद खन्ना पनि भनिन्छ। किनभने उनको व्यक्तित्व र लुक्स दुवै विनोद खन्नासँग मिल्दोजुल्दो थियो । अभिनयका साथसाथै रविन्द्रले धेरै मराठी फिल्मको निर्देशन पनि गरेका थिए।
अमिताभ बच्चन स्टारर सात हिन्दुस्तानीमा रविन्द्र महाजनीले प्रहरी निरीक्षकको भूमिका निभाएका थिए । यो उनको पहिलो बलिउड फिल्म थियो । त्यसपछि उनले मराठी फिल्म आराम हराम आहे, दुनिया करी सलाम, हल्दी कुंकुमा अभिनय गरे।
यस बाहेक उनले मुम्बई चा फौजदार झुंज, कलात नकालत मा काम गरेका थिए । उनको फिल्म ‘लक्ष्मीची पावले’ ब्लकबस्टर भएको थियो । सन् २०१५ मा उनले फिल्म ‘के राव तुम्ही’ बाट कमब्याक गरेका थिए ।