देश/प्रदेश

‘ब्रेक शू’ मा लुकाएर तस्करी भएको सुन आज गालिँदै

By खबरहब

August 15, 2023

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन आज गालिँदै छ । 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

यसअघि हिजो ‘ब्रेक शू’ बाट सुन छुट्याउने काम भएको थियो । यसरी निकालिएको सुन ६० किलो ७८९ ग्राम रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्ने अनुमान छ । 

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ ।

यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ‘ब्रेक शू’ भित्र लुकाएर सुन भित्र्याइएको खुलेको थियो ।