राजनीति

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग थाई नेपाली संघका पदाधिकारीको भेट

By खबरहब

August 15, 2023

काठमाडौँ- थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा मंगलबार भएको भेटमा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका छन् ।

भेटमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मूलका नागरिकका समस्याहरु समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने आवश्वासन दिएका थिए ।

नेपालबाट दोस्रो विश्व युद्धताका म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपालीका चौथो पुस्तासम्म बसिसकेका छन् । थाइल्याण्डमा लामो समय बसोबास गरेका नागरिकलाई गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले उपलब्ध गराउने परिचयपत्र पाउनसमेत कठिन छ ।

गैरआवासीय नेपाली संघको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिषा र अन्य सुविधाबाट बञ्चित हुनु परेको र नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताइन् । थाइल्याण्डमा झण्डै १ लाख नेपाली भाषी नागरिक रहेका छन् ।