तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

By खबरहब

August 15, 2023

नयाँ दिल्ली- भारतको हिमाचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।

अहिलेसम्म राज्यमा करिब ५५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ’ हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले भनेका छन् ।

हिमाचल प्रदेशमा जुन २४ मा मनसुन सुरु भएदेखि नै भारी वर्षा भइरहेको छ । जसले पहिरो, चट्याङका कारण ठूलो विनाश निम्त्याएको छ ।

सोमबार समर हिलमा रहेको एउटा मन्दिर पहिरोमा परेर भत्किएको थियो । घटनामा ३० देखि ३५ जना भित्र फसेको राष्ट्रिय प्रकोप प्रतिक्रिया बलका अधिकारी नफीस खानले आशङ्का व्यक्त गरेका छन् ।

घटनास्थलबाट ११ जनाको शव निकालिएको छ भने खोजी कार्य जारी छ । सरकारले उपलब्ध गराएको विवरणअनुसार सोमबार साँझसम्म राज्यभर २८३ जनाको ज्यान गएको छ । प्रकोपमा अरु ३०४ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् ।

राज्य आपतकालीन सञ्चालन केन्द्रले विपद्का कारण राज्यमा ८५७ सडक बन्द गरिएको जनाएको छ । भारतको मौसम विभागले मङ्गलबार हिमाचल प्रदेशमा आगामी दुई दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।