प्रवास

साउदीको जेद्दामा २२ नेपालीले पाए एक्जिट भिसा

By खबरहब

September 15, 2023

दोहा- साउदी अरबको जेद्दामा २२ नेपालीले एक्जिट भिसा प्राप्त गरेका छन् । महाबाणिज्यदूतावास जेद्दामार्फत वहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया गरिएका मध्ये २२ जनाको एक्जिट भिसा प्राप्त भएकोले चाँडो भन्दा चाँडो नेपाल फर्कन अनुरोध गरिएकाे छ ।

गैरकानुनी तथा अलपत्र नेपालीहरुले आफ्नो मोवाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान दूतावासले अनुरोध गरेको छ ।

एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनको लागि दूतावासमा आइरहनु नपर्ने जनाएको छ । एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहीं कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरि धड्पड अभियान तीब्र पारेसँगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।