अन्तर्वार्ता

‘प्रचण्डका लागि अन्तिम सत्य सत्ता हो’

By खबरहब

September 15, 2023

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का केही श्रृखलावद्ध अभिव्यक्तिहरू आइरहेका छन्। समाजवादी मोर्चा गठन भइसकेपछि प्रचण्डलाई साबिकको नेकपा ब्युँताउने हतारो देखिन्छ। के अब नेपालमा नेकपा ब्युँताउने प्रधानमन्त्रीको उद्घोष कत्तिको सान्दर्भिक छ ? नेपालमा पछिल्लो समयमा देखिएको राजनीतिक गतिरोध, सत्ता समीकरणका सन्दर्भमा केन्द्रित गुटबन्दीको राजनीति, यसले अहिलेको प्रणालीमा र संविधानका सन्दर्भमा उठाइराखेको प्रश्नमा आधारित रहेर राजनीतिक विश्लेषक जैनेन्द्र जीवनसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंशः

समाजवादी मोर्चा बनिसकेपछि सिंगो नेकपा चाहियो भन्ने अभिव्यक्ति प्रधानमन्त्री प्रचण्डले धेरै पटक व्यक्त गर्नुभएको छ। कांग्रेससँग बसेर सरकारमा जानुभएको छ। अब उहाँलाई नेकपा चाहिएको छ। प्रचण्डको राजनीतिक चरित्र के हो ? यो उहाँको स्वभाव हो। जहाँ जुन समूहमा पुग्नुहुन्छ त्यसको रिलेसन मन पराउने कुरा गर्नुहुन्छ। त्यसले गर्दा उहाँ ठाउँ समूह पिच्छे फरकफरक कुरा गर्नुहुन्छ। त्यसले उहाँलाई धेरै हलुका बनाएको छ। देशको प्रधानमन्त्री भए पनि उहाँले बोलेको कुरालाई गम्भीरतापूर्वक नलिने जमात धेरै भइसक्यो। उहाँले कतिपटक संसदमा उभिएर क्षमा माग्नु परेको छ। आफूले बोलेको कुरा यो होइन भनेर आफ्नो कुराको बचाउ पनि गर्नुपरेको छ। त्यस कारण उहाँको सत्य भित्री अन्तर्य भनेको प्रधानमन्त्री हुनु मात्र भएको छ। यो प्रधानमन्त्री भन्नलाई त यो अन्तिम प्रधानमन्त्रीत्व हो भन्नु भएको छ। सत्ताबाट बाहिरिएपछि फेरि प्रधानमन्त्री हुन हतार भइहाल्छ। स्वास्थ्य ठिक नभएको मान्छे त सत्ताबाट हट्न खोज्दैन उहाँको त ठिक छ। उहाँ सत्ता निष्ठ नेता हो। उहाँको अन्तिम सत्य भनेको सत्ता हो। त्यसका लागि नै सानासाना दलसँग सहकार्य गरेर ५४ जनालाई एक ठाउँमा राख्नुभएको छ।

कांग्रेस र एमालेलाई विकल्पमा हामी आउँदै छौँ भन्ने चेतावनी नै समाजवादी मोर्चा हो। कम्युनिस्ट निर्वाचन क्षेत्र हाम्रो हो त्यो गरेर देखाउँछौँ भन्नको लागि क्षणिक शक्ति देखाइएको हो। यसको तात्त्विक असर केही छैन। यसले उहाँहरू एक हुने पनि होइन।

अहिले प्रचण्ड नेतृत्वको सरकार बनिसकेपछि उत्तर तिरको दबाबका कारण नै उहाँले नेकपाको चर्चा गर्नुभएको भन्न सकिँदैन ? पहिला माओको पालामा केही मुलुकमा क्रान्ति निर्यात गर्थे। त्यसपछि विचार स्टेट टु स्टेट सम्बन्ध राख्ने कसैसँग पनि राजनीतिक आधारमा मात्र सम्बन्ध नराख्ने भन्ने आयो। जेम्स अफ किङले त्यसैलाई बढाए। आर्थिक आधारमा मात्र उनीहरूको सम्बन्ध रहने हो। एक पटक चीन शान्त कूटनीति गर्ने, अन्तर्राष्ट्रिय जगतमा धेरै हाइ प्रोफाइलमा नजाने। धेरै सक्रिय नहुने आफ्नो राष्ट्रिय हित हेर्ने, व्यापारको हिसाब हेर्ने लाइनमा थियो। अहिले आएर उनीहरूको उन्नति हुँदै गएपछि धनी हुँदै गएपछि उनीहरूको आकांक्षा बढ्दै गयो। उनीहरूमा पनि विश्वको शक्तिशाली राष्ट्र अमेरिकालाई चुनौती दिएर आफू अगाडि आउने, सैन्य शक्ति पनि बढाउने, क्षेत्रीय र सामूहिक आकांक्षा बढ्दै गए। त्यस कारणले उनीहरू आक्रामक डिप्लोमेसीमा आउन लागेका छन्।

चीनले पार्टी टु पार्टी सम्बन्ध बढाउँदै लगेका छन्। नेपालमा कम्युनिस्टहरू धेरै छन्। उनीहरूले कम्युनिस्ट पार्टीको नाममा शासन गरेको हुनाले र नेपालका कम्युनिस्टहरू पहिलादेखि नै भारतको विरोध गर्ने चीनलाई आफ्नो ठान्ने भएकोले ऐतिहासिक वा भावनात्मक सम्बन्ध भएको हुनाले उनीहरूले त्यो गरेका हुन्। तर उनीहरूले जतिसुकै दबाब दिए पनि यिनीहरू मिल्दा रहेनछन्। पहिला फुट्ने बेला पनि नफुटून् भनेको हो। यो सबैको निर्णायक तत्त्व भनेको मिलेर बस्नसक्ने अवस्था छ भन्ने हो। यिनीहरू मिल्छन् उसले अलिकति धकेल्नु उसको ठाउँबाट सानो भूमिका होला। यहाँ मिल्न नसक्ने अवस्था भयो भने चीनले अर्काको देशमा आएर दुई पार्टी मिल भनेर मिलाउन सक्दैन। मिलाइदिएर दिगो राख्न पनि सक्दैन। त्यसरी मिलि गए दुई चार महिनामा पार्टी फेरि फुट्छ।

हिजोका दिनमा सी चिन फिङ विचारधाराको लागि भनेर प्रशिक्षण नै दिइयो। अहिले पनि हरेक महिना दुई कम्युनिस्ट पार्टीका नेताहरू बेइजिङ गइराखेका छन्। तर त्यो सी विचारधाराको प्रशिक्षण दिएको केही दिन नपुग्दै कोही कता कोही कता भए। नेपालका कम्युनिस्ट पार्टीहरूको खास समस्या के को ? अहिले त सैद्धान्तिक समस्या नै छ। संसारभर कम्युनिजम फेल खाएको अवस्थामा कम्युनिजमको नारा र एजेन्डा दिएर नीति र कार्यक्रम लागू गरेर साम्यवाद लागू हुनसक्दैन। पटक पटक सत्तामा बस्दा पनि नेपाली कांग्रेसले लिएको आर्थिक नीति भन्दा उहाँहरूको नीति केही भिन्न छैन। अरु राजनीतिक संरचना संविधान पनि कम्युनिस्ट धारमा आधारित छैन। त्यसकारण अहिले सैद्धान्तिक समस्या हो।

सिद्धान्त फेल खाए पनि एमालेको हकमा चुस्त पार्टी भएको कांग्रेसको तुलनामा चुस्त पार्टी सङ्गठन बलियो भएको, कार्यकर्ता अलिकति प्रशिक्षित अनुशासित सक्रिय भएको हुनाले उनीहरूले त्यसको फाइदा लिएका हुन्। नत्र एउटा संकट सैद्धान्तिक नै हो। अर्को यिनीहरूले जति नै आदर्शका कुरा गरे पनि यी सबै सत्तामा गएपछि बिग्रिएका छन्। सत्तामा जानु भन्दा अगाडि नै बिग्रिएर सत्तामा गएपछि धन संग्रह गर्ने, हिजो चप्पल पड्काएर सर्वहाराका नेतासँग नेताहरू महलमा बस्ने, विदेशमा छोराछोरी राखेर पढाउने सबै भइसक्यो।

सत्ता त एउटैको हो। प्रधानमन्त्रीको सिटमा एउटै मान्छे हुन्छ। त्यसपछि आफ्नै पार्टी भित्रकोले खेदो खन्ने गुट खडा हुने, अर्को पार्टीकोले झन् खेदो खन्ने गरेर सत्ताको लोभ हुन्छ। सत्ताले कति भ्रष्ट बनाउँछ ! उहाँहरूले आफूलाई जति कम्युनिस्ट भने पनि सत्ताको लोभले भ्रष्ट भएको र एउटाले खान पाए अर्कोले नपाउने यो खान पाउने र नपाउनेको द्वन्द्व हो। सत्तामा पुगेर पैसा कमाएर शक्ति सञ्चय गर्ने र फेरि निर्वाचनमा गएर जितेर सत्तामा पुगेर पैसा कमाउने यो दुष्चक्रको शक्ति सञ्चय जुन छ त्यसको द्वन्द्व हो।

त्यसपछि एक किसिमले कम्युनिस्ट अन्योलमा छन्। एमाले जबज भन्छन्। मदन भण्डारीले नेपालमा कम्युनिस्ट पार्टीलाई सान्दर्भिक बनाई राख्नलाई जनताको बहुदलीय जनवादको सिद्धान्त ल्याएर प्रतिस्पर्धामा आए। अब हिंसाबाट सत्तामा जाने एकदलीय शासन होइन चुनावबाट लोकतान्त्रिक प्रक्रियाबाट सत्तामा जाने र शान्तिपूर्वक सत्ताबाट आउट हुने भनेर बनाएका थिए। त्यस्तो गर्नसक्ने नेता अहिले कोही पनि भएनन्। यिनीहरू अन्योलमा छन्। पार्टीको कार्यकर्ताको माझमा गयो। कम्युनिजमको कुरा गर्नुपर्ने, विदेशीदाताको माझमा आयो अर्कै कुरा गर्नुपर्ने गठबन्धनको माझमा नेपाली कांग्रेसमा गयो अर्को कुरा गर्नुपर्ने विभिन्न कम्युनिस्ट घटकको बिचमा पनि कोही उग्र छन् कोही के छन्। एमाले नामको मात्र कम्युनिस्ट पार्टी हो। कम्युनिस्टको मूलधार हो तर उसको कम्युनिस्ट चरित्र वर्ग सिद्धान्त नीति केही छैन।

अब माओवादी र प्रचण्डलाई कम्युनिस्ट शब्दमा मोह हराएको हो ? नभए किन समाजवादी मोर्चातर्फ लाग्नुभयो ? एक किसिमले हेटौँडा महाधिवेशनपछि नै उहाँहरू भाइ एमाले भइसक्नुभयो। उहाँहरूले युद्ध गर्नुभयो तर त्यो युद्धबाट यहाँ पुगिन्छ भन्ने थाहा थिएन। त्यहाँ धेरै फ्याक्टरले काम गरेको छ। ज्ञानेन्द्र राजा र गिरिजाप्रसादको मूर्खताले उनीहरू अहिले शान्ति प्रक्रियामा आए। त्यसपछि नपाउने भाग पाए र नपाउने शक्ति सञ्चय गरे। २०६४ सालमा गाउँमा अरु पार्टीहरू पुग्न सकेका थिएनन्। उनीहरूको त्रास थियो। जसबाट उनीहरू यो ठाउँमा पुगे। कटुवाल काण्डदेखि ६५÷६६ सालमा मान्छे उठाएर काठमाडौं घेर्ने लगायतका उटपट्याङ हर्कतले यो नहुने रहेछ भनेर थाहा पाए। सत्तामा गएपछि यहाँका सीमा के के छन् भनेर थाहा भयो। कुरा बुझ्दै गएपछि उहाँहरूले हेटौंडा महाधिवेशन गरेर २१ औँ शताब्दीको समाजवाद भनेर एमाले जस्तै लोकतान्त्रिकरण हुने बाटोमा आइसक्नु भएको थियो।

त्यसपछि उहाँहरूले राजनीतिक रूपमा परिवर्तन गर्दै लगेर आफ्नो क्रान्तिकारीतालाई साथमै राखेर त्यसलाई सुशासनको पक्षमा, राष्ट्र निर्माणको पक्षमा र देश विकासको पक्षमा लगानी गरेको भए हुन्थ्यो। तर उहाँहरु सबै माथिदेखि तलसम्म भ्रष्टाचारमा लाग्नुभयो। क्रान्तिकारी नारा दिएर आउने शक्ति यति छिटो भ्रष्टाचारमा लिप्त भयो कि अहिले माओवादीका नेता र कार्यकर्ता कोही पनि आर्थिक मामलामा चोखो छैनन्। केही थोरै मान्छेबाहेक अपराध, मानव तस्करी र भ्रष्टाचारमा जोडिएकै छन्। त्यसैले यो अब उहाँहरूको पतन सुरु भएको हो। यो कुरालाई प्रचण्डले पनि बुझेका छन्। अब जनताबाट प्रत्यक्ष निर्वाचित भएर हामी सत्तामा जान सक्दैनौँ भन्ने थाहा छ। त्यसैले गठबन्धनबाट फाइदा लिन सक्रिय देखिन्छन्।

नेपालमा समाजवादी मोर्चाले कुन वर्गको प्रतिनिधित्व गरिराखेको छ ? भन्न त उहाँहरूले आफूलाई सर्वहारा भन्नुहुन्छ। तर उहाँहरू भ्रष्टिकरण भएको हुनाले उहाँसँग अपराधी, भ्रष्ट, क्रान्तिकारी वर्गको छ्यासमिस देखिन्छ। कुनै वर्ग विशेषको दल यो होइन।

नेपाली कांग्रेस भन्ने पार्टीमा एजेन्डा, विचार, नेतृत्वका हिसाबले कसको नेतृत्व गरिराखेको छ ? नेपाली कांग्रेसको सधैँको एउटा स्पेस छ। यो लोकतान्त्रिक प्रजातन्त्र ल्याउने कायम राख्ने प्रजातन्त्रको लागि सङ्घर्ष गर्ने र लोकतान्त्रिक पार्टीबाहेक अर्को हो भनेर कसैले पत्याउँदैन। कांग्रेस नेतामा पनि भ्रष्टिकरण चरम छ। कांग्रेसका तल्लो तहका नेतामा पनि भ्रष्टिकरण कम्युनिस्टको जस्तै छ। नेपाली कांग्रेसलाई आम नागरिकको साथ राम्रो छ। तर यो संगठित रुपमा पहिलादेखि नै कमजोर हो। संगठन नभएको पार्टी हो। अहिले कसरी सत्तामा जाने र पैसा कमाउने भन्ने नेता बढी छन्। सबै नेता भ्रष्टाचारको प्रतिस्पर्धामा छन्। त्यहाँ चरम आन्तरिक गुटबन्दी नै देउवाको नेतृत्वको कमजोरी हो। यो नेतृत्वले न यो समाजको परिवर्तन बुझ्छ। 

न यो देशको समस्या बुझेर केही गर्न सक्छ। केही गरौँ भन्ने युवाहरू बाहिर गएका छन्। यो विषयमा अब के गरौँ भनेर देउवाले एक मिनेट पनि सोच्छन् जस्तो मलाई लाग्दैन। जनताका जल्दाबल्दा समस्यामा ध्यान नै छैन। सत्ता, पैसा र परिवारलाई कसरी ठाउँमा पुर्याउने भन्ने ध्यान मात्र छ। अब यो देशको नेतृत्व कांग्रेसले गर्नसक्छ जस्तो लाग्दैन।

कांग्रेसमा विचार चाहिँ बाँकी छ कि छैन ? विचार नै विचारले पनि यो नेपाल सकिएको हो। विचार होइन हामीलाई नीति कार्यक्रम ल्याएर काम गर्ने मान्छे चाहिएको हो। देशको समस्या गरिबी हो। यो गरिब देशमा छिटो आर्थिक विकास हुनुपर्‍यो। श्रम अराजकता र भ्रष्टाचार हट्नुपर्‍यो । अहिले स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्‍यो। यस्ता सवालमा नेपाली कांग्रेसको कुनै पनि विचार, नीति तथा कार्यक्रम देखिँदैन।

कांग्रेस र कम्युनिस्टसँग भरोसा टुट्यो। नयाँ दलहरूसँग भरोसा गर्ने ठाउँ छ त ? नयाँ दलमा पढेलेखेका मान्छेहरू छन्। त्यहाँ नेता हेर्न सकिन्छ। त्यस कारण नयाँ दलको पनि रविको पार्टी उहाँले पहिला गृह मन्त्रालय नभइ हुँदैन भनेर अदालतले नै हटाउनु पर्ने बाध्यता सिर्जना गर्नुभयो। अहिले पनि पपुलिजमको कुरा गर्नेबाहेक उहाँले देशलाई अगाडि लिएर जानु हुन्छ भन्ने मैले देखेको छैन। भर्खर आउनु भएको छ, केही समय दिऔँ। अझै चार वर्ष छ चुनाव आउन। मान्छेले भने जस्तो उनीहरू ठुलो शक्ति भएर आउँछन् जस्तो मलाई लाग्दैन। दल स्वतन्त्र र व्यक्ति स्वतन्त्रमा फरक छ। बालेन्द्र शाह र हर्कको कुरा गर्दा अवस्था फरक छ।

बालेन शाहले केही राम्रो काम गरे पनि उटपट्याङ कुरा गरेर दम्ब देखाए। आफ्नो परिवार चढेको गाडीमाथि सुरक्षा चेकजाँच हुँदा सिंहदरबार जलाउने, सरकारलाई चोर भन्ने शैलीले बालेनलाई माथि लादैन।

काठमाडौँको मेयरलाई राज्यमन्त्री सरहको दर्जा दिएको छ। प्रधानमन्त्रीपछि मान्छे हो। यस्ता आलाकाचा मान्छेहरूले भोलि के नेतृत्व देलान् ! यत्रा जेल नेल खाएर खारिएर आएका नेताबाट त भएन । यी बाट के आशा गर्ने ? म चाहिँ यीबाट आशा गर्ने ठाउँ देख्दिन।

नयाँबाट पनि भएन पुरानाबाट पनि भएन भने अराजकता हाबी होला नि ? हामीले आश गर्ने हो। सकारात्मक पिचार राख्नुपर्छ। नेपाली कांग्रेसमा पनि दबाब समूह बनिराखेको छ। गगन–विश्वप्रकाश जस्ता मान्छे छन्। एमालेमा पनि केही राम्रा मान्छे छन्। देशको लागि सोचिराखेका होलान्।

अहिलेको सरकारपछि माधव कुमारको सरकार, त्यसपछि देउवाको भनेर बालुवाटारले बनाएको मार्गचित्रमा राजनीति जाला कि नजाला ? राजनीति तरल अवस्थामा छ। भोलि प्रचण्डले छोड्ने कुरामा तिमीलाई नै म समर्थन गर्दिन्छु भनेर एमालेले भन्यो भने यो गठबन्धन भत्किएर एमालेसँग मिल्न सक्छ। अब बेला केही पनि भन्न सकिँदैन। टु प्लस वान पनि जान्छ कि जाँदैन। गएछ भने पनि अहिलेको भन्दा भिन्नता केही भेटिँदैन काम गराइ नै केही हुँदैन।