फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध ज्यादती अझै रोकिएन, इसाई धर्मगुरुमाथि गोली प्रहार

By खबरहब

September 15, 2023

इस्लामावाद- पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध ज्यादतीका घटनामा अझै कमी आउन सकेको छैन । हालै पाकिस्तानको फैसलावाद सहरमा एक जना इसाई धर्मगुरुमाथि गोली प्रहार भएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार फैसलावाद नजिकै रहेको जहरानवाला तहसिलस्थित म्योङ साङ नजारेथ गिर्जाघरमा कार्यरत धर्मगुरु रेभरेन्ड फादर एलाजार सिद्धुमाथि गोली प्रहार गरिएको हो ।

गोली लागी उनी घाइते भएको डनले जनाएको छ । गिर्जाघरमा धार्मिक कार्य सकेर घर फर्किँदै गरेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो ।

केही समयअघि उनको गिर्जाघरमा तोडफोड गरी आपत्तिजनक धार्मिक नारा लेखिएको र प्रहरीको सहयोगमा उक्त नारा हटाएपछि केही व्यक्तिहरुले उनको ज्यान लिने धम्की दिएका थिए ।

घटनाबारे अनुसन्धान थालिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।