फाइल तस्वीर

देश/प्रदेश

नौमती बाजा संरक्षण गर्दै बागलुङ नगरपालिका

By खबरहब

November 15, 2023

बागलुङ- पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा बागलुङ नगरपालिकामा संरक्षण गर्न थालिएको छ । सिगानास्थित लामिचौरको दलित बस्तीमा नौमती बाजा संरक्षणका लागि बागलुङ नगरपालिकाले चासो दिएको हो । नौमती बाजा संरक्षणका लागि सिगानाको नौमती बाजा समूहलाई बाजाका सामग्री सहयोग गरेको छ ।

बागलुङ–८ सिगाना लामीचौरमा रहेको दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्नका लागि उक्त बाजा सहयोग गरिएको हो । पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि बागलुङ नगरपालिकाले नगरस्तरीय रु तीन लाख बजेटमार्फत दुई समूहलाई नौमती बाजा खरिद गरी वितरण गरेको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

बाजा प्राप्त गर्दा संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने नौमती बाजा वितरण समितिका अध्यक्ष जब्बरबहादुर नेपालीले बताए । उनका अनुसार दलित समुदायभित्र दुई समूहले नौमती बाजा बजाउने गर्दछन् । नौमती बाजा संरक्षण हुन नसक्दा आयआर्जनमा समस्या हुन थालेकाले नगरपालिका संस्थागत रूपमै नौमती बाजा संरक्षणमा जुटेको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजु कार्कीले बताए ।