खेलकुद

नेपाल सुपर लिग : ललितपुरको अपराजित यात्रा जारी

By खबरहब

December 15, 2023

काठमाडौं – राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

दशरथ रङ्गशालामा आज भएका खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि प्रतियोगिता गोलरहित बराबरीमा टुङ्गिएको हो । आजको खेलसँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अङ्क बाँडेका छन् । दश अङ्क बटुलेको ललितपुर अङ्कतालिकाको दोस्रो स्थानमा छ ।

त्यस्तै पाँच खेलमा स्पर्धा गरेको धनगढी ११ अङ्क समेटेर पहिलो स्थानमा छ । यो खेलसँगै ६ खेलमा प्रतिस्पर्धा गरेको झापाले सात अङ्क पाएको छ । एक हार, एक जित र चार बराबरीसँगै झापा अङ्कतालिकाको पाँचौ स्थानमा छ ।

दशरथ रङ्गशालामा भोलि दुई खेल हुनेछन् । दिउँसो १ बजे हुने पहिलो खेलमा पोखरा थन्डर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ भने अपराह्न ५ बजे हुने दोस्रो खेलमा स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।