देश/प्रदेश

विमान दुर्घटनाका मृतकको शव पहिचान गर्न र पोष्टमार्टममा सघाउन दुई विज्ञ पोखरा पठाइयो

By खबरहब

January 16, 2023

काठमाडौँ- आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको शव पहिचान तथा पोष्टमार्टममा सघाउन त्रिवि शिक्षण अस्पतालबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पठाइएको छ ।

शिक्षण अस्पतालबाट फरेन्सिक विज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाललाई पोखरा पठाइएको हो ।

एयर डाइनोस्टिक हेलिकप्टरबाट उनीहरुलाई पोखरा पठाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

पोष्टमार्टम तथा फरेन्सिक जाँचका लागि पोखरामै पाँच जना विज्ञहरु भए पनि काठमाडौँबाट गएका विज्ञहरुले थप काममा सघाउने डा. अधिकारीले बताए ।

अहिले सम्म दुर्घटनामा परेका ६९ जना यात्रुको शव फेला परेको छ । बाँकी तीन जना शिशु तथा बालबालिकाहरुको शव भेटिएको छैन । डा. अधिकारीले पहिचान भएका र त्यहिको स्थानीय यात्रुहरुको शवलाई पोखराबाटै पोष्टमार्टम गरी आफन्तलाई बुझाउने व्यवस्था भएको बताए ।

उनले चालक दलका सदस्य, विदेशी नागरिक तथा पहिचान नखुलेका अन्य यात्रुहरुको शव काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पतालबाट पोष्टमार्टम गरेर जिम्मा लगाइने तयारी भएको बताए ।