फाइल फोटो

राजनीति

कर्णाली प्रदेशसभा बिजनेसविहीन 

By खबरहब

February 16, 2023

सुर्खेत – कर्णाली प्रदेशसभा अहिले बिजनेसविहीन अवस्थामा पुगेको छ । मुख्यमन्त्री गृह जिल्ला रुकुम पश्चिमको भेटघाट कार्यक्रममा व्यस्त छन् । प्रदेशसभा सदस्यहरू व्यक्तिगत काममा जिल्ला त कोही काठमाडौँ पुगेका छन् ।

सरकार गठन भएको दुई महिना पूरा हुँदासम्म प्रदेशसभालाई सरकारले बिजनेसविहीन बनाएर बैठक स्थगित भएको छ । अघिल्लो बैठक बसेको झन्डै एक महिना पुग्न लाग्दासम्म पनि अर्को बैठक बस्न सकेको छैन ।

प्रदेशसभाका ६ वटा बैठक भएको पाइएको छ । ती बैठकहरू सभामुख , उपसभामुख , मुख्यमन्त्री चयन र विश्वासको मत लिनका लागि मात्र भएका थिए । प्रदेशसभाका विषयगत समिति समेत गठन गरिएको छैन । चार वटा समिति गठन गर्नुपर्ने हुन्छ ।

यता सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले फागुनको पहिलो सातादेखि प्रदेशसभाको बैठक नियमित गर्ने गरी तयारी गरेको जानकारी दिए । संसदीय समिति गठनका लागि राजनीतिक सहमति पनि जुटाउनुपर्ने भएकाले केही दिनभित्रबाट त्यस विषयमा छलफल अघि बढ्ने जिसीको भनाइ छ ।