राजनीति

उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका राजदूत चौधरीबीच भेटवार्ता

By खबरहब

March 16, 2023

काठमाडौँ– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । आज मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले समृद्धिका लागि दुवै राष्ट्र मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

कतारमा भएको अतिकम विकसित मुलुकको सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गरेको स्मरण गर्दै उनले नेपाल र बंगलादेश नजिकका र पुराना मित्रराष्ट्र भएको उल्लेख गरे । दूरीका हिसाबले बंगलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको उनको भनाइ थियो ।

भेटवार्ताका क्रममा राजदूत चौधरीले नेपाल आफूहरूको नजिकको मित्रराष्ट्र भएको उल्लेख गरेका थिए । उनले नेपालमा राजदूत भएर आएको दुई वर्ष भइसकेको बताउँदै नेपाल र नेपाली आफूलाई धेरै मन परेको भनाइ राखेका थिए ।

राजदूत चौधरीले बंगलादेशको राष्ट्रिय दिवस (नेसनल डे) को अवसरमा यही मार्च २० मा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।