अन्तर्वार्ता

नेपाल असफल राष्ट्र बन्ने चिन्ता छ

By खबरहब

April 16, 2023

देशको आर्थिक अवस्थामा राष्ट्र बैंकले केही आशा जगाउने आधार दिएको छ। राष्ट्र बैंकले जुनसुकै तथ्यांक दिए पनि लगानी गर्ने अवसर नभएको व्यवसायीको गुनासो छ। राजनीतिक नेतृत्वले देशको विकासका लागि पहल नगरेको उनीहरुको भनाइ छ। नेतृत्वबाटै विकास र निर्माणका काममा अवरोध सिर्जना भएका घटना सार्वजनिक भइराखेका छन्। निर्वाचन पछिको चुनावी पहिचान र सरकारले जुन गति लिनुपर्ने हो त्यो हुन सकेको छैन। उपनिर्वाचन आइसकेको छ। दल र सरकार यत्तिबेला उपनिर्वाचनमै केन्द्रित भएको देखिन्छ। अहिलेको अवस्थालाई हामीले कसरी बुझेन ? राजनीतिक नेतृत्वले बाटो बिराएका हुन भने अब बाटो देखाउने कसले ? यी र यस्तै समसामयिक विषयमा आधारित भएर पूर्वराजदूत प्रा. डा. जयराज आचार्यसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

अहिलेको समयको राजनीतिले कस्तो बाटो लिएको देख्नुहुन्छ ? अहिलेको राजनीतिलाई हेर्दा नेपाल असफल राष्ट्र हुने हो कि भन्नेतर्फ अगाडि बढिरहेको जस्तो लाग्छ।

२०७२ सालमा संविधान जारी भएपछि दुई वटा निर्वाचन सम्पन्न भए। तर विकास र समृद्धिको बाटो खनिएन, किन ? संविधानमा नै अलमलिने ठाउँ रहेको छ। यो संविधानको संरचना यस्तो छ कुनै पनि पार्टीले साधारण मेजोरोटी ल्याउन नै सक्दैन। जहिले पनि गठबन्धनमा सरकार बनाएको मात्र छ। त्यो सरकार बनाउन गर्ने मेहनतमा जत्तिकै त्यसलाई बचाइरहने, टिकाइरहने भन्ने चिन्तामा नै सरकार अलमलिएको हुन्छ। यस्तै खेलले सरकारको अवधि पनि सकिन्छ। अहिलेको सरकारले एउटा आकार लिन सकेको छैन।

प्रदेशमा मन्त्रीका लागि दिइएको सुविधाको असर राज्यमा कस्तो पर्ने देख्नु हुन्छ ? देश बाटो बिराएर एक डेढ किलोमिटर अगाडि बढेको भए फर्किएर अर्को बाटोमा हिँडाउन सकिन्थ्यो। तर हामी गलत बाटो हिँडिसकेका छौँ। सात प्रदेशको कुरा आएको छ। १५ जना मन्त्री राख्दा पनि ७ प्रदेशमा १०५ जना मन्त्री रहन्छन्। ती सबै मन्त्रीको घर भाडा, तलब अनि कसरी देशको विकास हुन्छ ? अब खर्च धान्न सकिँदैन। राजस्व उठेको रकमबाट कर्मचारीको तलब खुवाउन नसकेर एडीबीसँग २० करोड २६ अर्ब नेपाली रुपैयाँको ऋण मागेको छ। नेपालको इतिहासमा पहिलो पटक हो राजस्व उठ्ने भन्दा घटने काम बढी भइराखेको छ।

जनताको विश्वासको कारण नै नेताले चुनावमा मत ल्याएको हो कि खास के हो ? बुढाबुढी विदेश जान बाँकी रहेकाहरूको मत आउने नै भयो। विगतको चुनावमा भन्दा अहिलेको चुनावमा कम मत खस्यो। मतदानलाई हेर्दा ५० प्रतिशत मात्र छ। यो चुनावमा थोरै मत खसेको पहिलो रेकर्ड हो। त्यसमा कतिपय जनता बाहिरी देशमा भएर कोही यही देशमा भएर पनि मत नदिएको अवस्था रहेको छ। धेरै सम्भावना भएको देश नेपाल हो। तर लगानी गर्ने मान्छे विदेशिएका छन्। यो सवाललाई राजनीतिक पक्षले पनि ध्यान नदिएको अवस्था छ। पार्टी भनेको नेता हो या नीति हो। सबैभन्दा पहिला त्यो थाहा पाउनु पर्ने हुन्छ। नेता चुन्ने व्यक्ति खोक्रो सिद्धान्तबिहीन हो। सात दशकमा नेपालमा सातौं संविधान बनेको छ। संविधान च्यात्दै फाल्दै, नयाँ बनाउँदै गरे जस्तो छ। हामी संवैधानिक काँचोपन भएको छ। सबैभन्दा पहिला हामीले संविधानको पालना गर्नुपर्छ।

२०८२ सालमा अर्को संविधान बनाउनुपर्ने अवस्था आएको हो ? संविधानले स्थायित्व दिनुपर्छ। नेपालमा फेरि पनि संविधान फेर्ने नै जस्तो भान हुन्छ। संविधान भनेको इन्डियाको जस्तो लामो हुनुपर्छ। लामो संविधानमध्ये इन्डियाको संविधानलाई लिइन्छ। संविधान होस् त भारतको जस्तो भन्ने लाग्छ। जसले राजनीतिक स्थिरता र समृद्धिको बाटो अगाडि बढ्न प्रेरित गर्छ।

यसरी छोटो समयमै फेरिने गरी हाम्रो संविधान के मा लेखिएको हो ? देशको राजनीतिक अवस्था देख्दा हाम्रो संविधान बालुवामा लेखिएको जस्तो लाग्छ।

हामी आयातमा मात्र केन्द्रित भएका छौं। सरकारले बाहिरी सामान किनेर खान अब नौ महिना पुग्छ भनेको छ। किन यो अवस्थामा हामी पुग्यौं ? बाहिरबाट किनेर ल्याएर खान पुग्ने भन्ने विषय मुलुकका लागि चिन्ताजनक छ। हाम्रो तरकारी, स्याउ भने कुहिएर गएको छ। सरकारले वास्तवमा भएको के हो ? हाम्रो देशमा उत्पादन किन गर्न सकिएन ? युवालाई किन प्रोत्साहन गरिएन ? यो विषयमा विमर्श आवश्यक छ।

देश जता हेरे पनि भताभुङ्ग जस्तो देखिन्छ। त्यसलाई मिलाउने चाहना नेतृत्वमा नभएको कि नचाहेको हो ? देशमा परिवर्तन गर्ने र देशलाई बनाउने हुटहुटी भएको नेतृत्व यो देशमा देखिएन।

वैशाख १० गतेको उपनिर्वाचनमा कसको सम्भावना देख्नु हुन्छ ? जनताको रोजाई नयाँ नेतामा देखिन्छ। जब राजनीतिक दल आफ्नो प्रतिबद्धतामा चुक्छन् तब जनताको विश्वास गुम्दै जान्छ। अहिलेका नयाँ नेता पनि चलचित्रका हिरो, जोकर जस्ता मात्र छन्। जसले देश बनाउँछन् भनेर विश्वास गर्ने ? विस्तारै राजनीति भनेको जोकरहरुको खेल हो भन्ने बन्ने देखिन्छ। यसले केही व्यक्तिलाई फाइदा गरे पनि देशको विकास सम्भव छैन। यो राजनीतिक प्रणालीमा जोसुकैले जितेर आए पनि जनताले भरोसा गर्न सक्दैनन्। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : कुसुम गौतम