फाइल फोटो

राजनीति

सांसदले गराए सरकारको ध्यानाकर्षण

By खबरहब

April 16, 2023

काठमाडौँ- आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद भानुभक्त जोशीले बझाङको साइपाल गाउँपालिमा खाद्य डिपो स्थापनाका लागि आग्रह गरे ।

सांसद मनिष झाले मधेश सरकार हाल उपनिर्वाचनको तयारीमा बारामा मात्र केन्द्रित भएको भन्दै जनताका सरोकारका विषयमा काम गर्न आग्रह गरे ।

सांसद महेशकुमार बर्तौलाले गाईमा देखिएको रोगका कारण किसान प्रभावित भएको उल्लेख गर्दै यसको समाधानका लागि भ्याक्निको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद माधव सापकोटाले मनसुनजन्य विपदबाट वर्षेनी हुने क्षतिका बारेमा जानकारी गराउँदै त्यसको समाधानका लागि पूर्व तयारी गर्न आग्रह गरे ।

सांसद मैना कार्कीले सशस्त्र द्वन्द्वमा जघन्य अपराध भएको बताउँदै पीडितलाई न्याय दिलाउन यससम्बन्धी विधेयकमा भएका त्रुटी सच्याएर मात्र पारित गर्नुपर्ने माग गरिन् । सांसद मञ्जु शर्मा अन्सारीले मल बिऊ समयमै उपलब्ध गराएर किसानका समस्या समाधानका लागि आग्रह गरिन् ।

सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भइ सांसदका प्रश्नको जवाफका लागि आग्रह गरे । सांसद राजु थापाले स्याङ्जामा आगामी बजेटमा समावेश गरी बाटोको करिडोर निर्माण समावेश गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद राजनकुमार केसीले मुलुकमा राजश्व कम उठेको बताउँदै तत्काल आम्दानी र खर्चमा सन्तुलन ल्याउन अर्थमन्त्रीसँग आग्रह गरे । सांसद रामकृष्ण यादवले मुलुक सङ्घीयतामा गइसकेपछि दुई पटक तीन तहका निर्वाचन भए पनि जनताले गरेको धेरै अपेक्षा पूरा गर्न नसेकोप्रति सबै जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।