तस्वीर- वेलिङ्टन नगर परिषद/बीबीसी

अन्तर्राष्ट्रिय

न्युजिल्यान्डको राजधानीमा आगलागी हुँदा ६ जनाको मृत्यु

By खबरहब

May 16, 2023

वेलिङ्टन- न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चारतले होस्टेल भवनमा रातभर आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा अरु ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार सोमबार मध्यरात करिब साढे १२ बजे मध्य वेलिङ्ग्टनको एडिलेड रोडमा रहेको लोफर्स लज होस्टेलमा आगो लागेको हो ।

आगलागी भएको उक्त भवनबाट ५२ जनालाई उद्धार गरी बाहिर निकालिएको छ भने पाँच जनाको छतबाट उद्धार गरिएको छ । तर अझै थुप्रै व्यक्ति बेपत्ता रहेको प्रहरीले जनाएको छ । त्यसैगरी दुईजना गम्भीर घाइतेसहित पाँच जनालाई अस्पताल पठाइएको छ ।

बिहानको समाचार कार्यक्रमसँग कुरा गर्दै न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले सो घटनामा थप मृत्यु हुनसक्ने आशङ्का रहेको बताएका छन् । घटनास्थलको निरिक्षणपछि हिपकिन्सले पीडितहरू र तिनीहरूका परिवारहरूप्रति संवेदना व्यक्त गरेका छन् ।

उक्त भवन यस वर्षको शुरुमा निरीक्षण गरिएको र सबै मापदण्ड पूरा गरिएको पाइएको भए पनि यसमा स्प्रिंकलर प्रणाली भने नभएको आवासमन्त्री मेगन वुड्सले बताएकी छिन् ।