पाठेघर खस्नुलाई आङ खसेको भनेर पनि धेरैले बुझ्दै आएका छन्। कतिपय महिलामा बच्चा जन्माएपछि स्याहारको कमी हुँदा वा उचित हेरचाह नहुँदा आङ खस्ने समस्या देखिनसक्छ। विशेष गरेर धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुँदा, आरामको कमी, काम बढी गर्ने, तालिम प्राप्त नर्सको रेखदेखबिना घरमै सुत्केरी गराउने महिलामा पाठेघर खस्ने धेरै सम्भावना हुन्छ। त्यसैले के हो त पाठेघर खस्ने समस्या? यो समस्या धेरैजसो कसलाई हुन्छ? पाठेघर खस्नुका लक्षण के के हुन सक्छन्। रोकथामका लागि अपनाउनुपर्ने उपाय के के हुन सक्छन् ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि प्रसूति रोग विशेषज्ञ डा. ममता बरालसँग गरिएको कुराकानीको सम्पादित अंश :
पाठेघर खस्ने समस्या भनेको कस्तो हो ? पाठेघर अगाडिबाट पिसाब थैली र पछाडिबाट दिसा थैलीको बीचमा हुन्छ। यो अङ्ग कुनै कारणले आफ्नो ठाउँबाट तल झर्यो भने त्यसलाई पाठेघर खसेको भनिन्छ। गर्भावस्थामा प्रजनन अङ्गमा असर हुने हुँदा पाठेघर लुज भएर जान्छ। पाठेघरलाई अरू तन्तुले जोडेर राखेको हुन्छ। सपोर्ट कम भएपछि लुज भएर पाठेघर ठाउँ छोडेर तल आउँछ। यो अवस्थालाई नै पाठेघर खस्नु भनिन्छ। मुख्यतः महिलाले सुत्केरी भएको अवस्थामा पौष्टिक तत्त्वको कमी भएमा, हाइजिन, फिजियोथेरापी, रिल्याक्सेसन गर्ने मसल्सको सर्पोट भएन भने पाठेघर खस्ने समस्या देखापर्छ।
पाठेघर खस्नुको मुख्य कारण के के हुन् त ? बच्चा जन्माउँदा सुरक्षित जन्मिएन वा अस्पतालमा जन्माइएन भने युट्रेसलाई सर्पोट गर्ने फेसिया, लिगामेन्टमा स्ट्रेस भएर पाठेघर खस्ने गर्छ। सन्तानको जन्मान्तर कम हुनु, धेरै बच्चा जन्माउनु, धेरै पटक गर्भपतन गर्नु, गर्भवती तथा सुत्केरी समयमा भारी–गह्रौँ सामान बोक्नु आदि पाठेघर खस्नुका मुख्य कारण हुन्। यसका साथै, चुरोट खाने, खोक्ने र कुपोषण भएका महिलामा यो समस्या देखिन्छ। खोक्दा पेट भित्र धेरै बल पर्छ। महिनावारी सुकेका महिलामा हर्मोनल डिफिसेन्सी हुन्छ र मसल्समा असर पर्छ। यो समस्या पहिलेबाट भए पनि महिनावारी सुकिसकेपछि पनि देखिन सक्छ।
पाठेघर खस्दाका लक्षण के के देखा पर्छन् त ? सबै भन्दा पहिला पेटको तल्लो भागमा अप्ठ्यारो फिल हुने हुन्छ। योनीमार्गमा केही भारी चिज आएर बसेजस्तो हुने, तल्लो पेट र कम्मर वरिपरि दुख्ने, पिसाब गर्दा केही चिज आएर बसेजस्तो अप्ठ्यारो हुने, हिँड्नसमेत अप्ठ्यारो हुने, पिसाब चुहिने वा कहिलेकाहीँ पिसाब नै बन्द हुने हुन्छ। सबै ढाड दुख्ने महिलाको पाठेघर खसेको हुँदैन। सुत्दा ढाड दुख्दैन भने त्यो पाठेघर खसेर भएको हुन्छ। छिटो, छिटो बच्चा जन्माउने, पोषणयुक्त खाना नखाने, हाइजिन मेन्टेन नगर्ने महिलामा बढी देखिन्छ। दिसा थैलीलाई पनि तल तान्ने भएकाले दिशा गर्दा धेरै बल गर्नुपर्ने हुन्छ। पाठेघर पुरै बाहिर निस्केको धेरै लामो समय भयो भने पुरै घाउसमेत हुनेगर्छ। यसले रगत मिसिएको पानी बग्ने गर्छ।
कुन उमेरका महिलामा यो समस्या बढी देखिएको छ त ? यो समस्या सबै उमेर समूहका महिलामा देखिनसक्छ। सामान्यतः वृद्ध महिला, महिनावारी बन्द भएका ४०-४५ वर्ष माथिकालाई र सुत्केरी महिलासँगै महिनावारी रोकिएपछि पनि यो समस्या हुने गरेको छ। सुत्केरी अवस्थामा पौष्टिक खानेकुरा खाने, शारीरिक व्यायाम गर्ने गर्नुपर्छ। धेरै भारी कुरा उचाल्नु हुँदैन। सुत्केरी अवस्थामा धेरै काम गर्दा पनि यो समस्या देखिन सक्छ। सहरमा बस्ने महिलाले धेरै भारी बोक्ने काम नगर्ने भएकाले सहरमा बस्ने महिलामा यो समस्या कम देखिन्छ। गाउँघरका महिलाले भारी बोक्ने, सुत्केरी भएपछि छिट्टै घरको काम गर्ने भएकाले यो समस्या गाउँघरका महिलामा बढी देखिन्छ। पाठेघरमा फाइब्राइट अथवा ट्यूमर भएका महिलाहरूमा पनि यो समस्या देखिन सक्छ।
उपचार कसरी हुन्छ र समयमा उपचार नगर्दा कस्तो जोखिम निम्तिन सक्छ ? पाठेघर खस्ने समस्याको उपचार वा समाधान भनेको नै अप्रेसन हो। अप्रेसन गर्दा पाठेघरसँगै पिसाब थैली र दिसा थैलीको पनि अप्रेसन गर्नुपर्ने हुन्छ। कुनै महिलालाई विभिन्न मेडिकल कन्डिसनले जसलाई अप्रेसन गर्ने कन्डिसन हुन्छ। उहाँहरुलाई हामीले चुरा जस्तो कुरा योनीमा राखेर पाठेघर अड्काइदिन्छौ। यो स्थायी उपचार भने होइन। पाठेघर खस्ने समस्याको स्थायी उपचार भनेकै शल्यक्रिया हो।
यसको समयमा उपचार गरेन लक्षण देखिएर पनि उपचारमा गएन भने घाउ हुन्छ। पछि रगत बग्न थाल्छ, तब मात्र उपचारको लागि आउने गर्छन्। पाठेघर खस्दाको पहिलो र दोस्रो चरणसम्म त्यति गाह्रो हुँदैन। तर, बाहिर निस्किएपछि गाह्रो हुनथाल्छ। यदि समयमै उपचार भएन र सरसफाइको अभाव भयो भने पाठेघरको मुखको क्यान्सर हुने सम्भावना अधिक हुन्छ।
यो समस्या आउन नदिन पहिला नै के कुरामा ध्यान दिने ? गर्भवती अवस्थामा महिलाको पाठेघर खुकुलो भएको हुन्छ। यो समयमा गह्रौँ भारी नबोक्ने, व्याममार्फत पाठेघरलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ। पाठेघर खस्ने समस्याबाट बच्न हामीले पोषणयुक्त खाना खाने गर्नुपर्छ। बच्चा छिटो छिटो नजन्माउने, धेरै बच्चा नजन्माउने गर्नुपर्छ। बच्चा जन्माउँदा सुरक्षित तरिकाले वा स्वास्थ्य संस्थामा गएर जन्माउनुपर्छ। किशोरीलाई पोसिलो खाना खुवाउने, महिलाको उमेर कम्तीमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने। २० वर्षको उमेरपछि मात्र बच्चा जन्माउने गर्नुपर्छ। गर्भवती हुँदा स्वास्थ्य जाँच गराउने र सुत्केरी भएको ६ हप्तासम्म आराम गर्नुपर्छ।