देश/प्रदेश

जयनगर–जनकपुर रेलसेवा विस्तार, आजदेखि महोत्तरीको भंगाहासम्म चल्ने

By खबरहब

July 16, 2023

जनकपुर– नेपालको एक मात्र जनकपुर–जयनगर रेल सेवाले आफ्नो क्षेत्र  विस्तार गरेको छ । 

विस्तारित सेवाअनुसार जनकपुर-जयनगर ब्रोडगेज रेल आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको हो ।

रेलसेवा जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

विस्तारित रेल सेवाको बिहान साढे १० बजे भंगाहा स्टेसनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि  जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । आजबाट थप १७ किलोमिटर थप भएपछि अब ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।