फाइल फोटो

आर्थिक

बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन

By खबरहब

July 16, 2023

बैतडी– जिल्लाका स्थानीय तहले चालू आर्थिक वर्षमा र८७ करोडभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर ८७ करोड  २३ लाख १४ हजार बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बताएका छन् ।  

यहाँका सबै स्थानीय तहमा चालू आर्थिक वर्षका लागि  पाँच अर्ब ६९ करोड १६ लाख ८१ हजार बजेट आएको थियो । सबैभन्दा बढी मेलौली नगरपालिकाबाट चालू र पुँजीगत दुवै गरेर रु १३ करोड ३२ लाख २६ हजार बजेट खर्च गर्न हुन सकेन । उक्त नगरपालिकाबाट ६० करोड ४० लाख ७८ हजारमध्ये रु ४७ करोड आठ लाख ५२ हजार बजेट मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।  

सिगास गाउँपालिकाबाट ५० करोड २० लाख ९३ हजार बजेटमध्ये आठ करोड ७१ लाख छ हजार खर्च हुन नसकेको  उक्त कार्यालयले जनाएको छ । सिगासले रु ४१ करोड ४९ लाख ८७ हजार रकम मात्रै खर्च गरेको छ ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले रु ६७ करोड ६४ लाख २६ हजार बजेटमध्ये रु ५८ करोड ९३ लाख चार हजार खर्च गरेको छ । उक्त नगरपालिकाले रु आठ करोड ७१ लाख २२ हजार  खर्च गर्न बाँकी देखिएको छ ।

पाटन नगरपालिकाबाट रु ७४ करोड १६ लाख ४१ हजारमध्ये रु ६१ करोड ५८ लाख ५२ हजार मात्रै खर्च गरेको देखिएको छ । उक्त नगरपालिकाले रु १२ करोड ५७ लाख ८९ हजार खर्च गर्न बाँकी रहेको छ  । यसैगरी पुर्चौंडी नगरपालिकाबाट ७१ करोड ६३ लाख ९६ हजार बजेटमध्ये ६२ करोड ८६ लाख ३४ हजार मात्रै खर्च भएको छ । 

उक्त नगरपालिकाले रु आठ करोड ७७ लाख ६२ हजार खर्च गर्न बाँकी देखिएको छ । डिलासैनी गाउँपालिकाले पनि ५२ करोड ३६ लाख १६ हजार बजेटमध्ये रु ४४ करोड ४४ लाख १६ हजार मात्रै खर्च गरेको र  सात करोड ९२ लाख खर्च गर्न बाँकी रहेको छ ।

दोगडाकेदार गाउँपालिकाले रु ५५ करोड ६९ लाख ६० हजार बजेटमध्ये रु ४७ करोड ९२ लाख ५४ हजार खर्च गरेको छ । उक्त गाउँपालिकाबाट  रु सात करोड ७७ लाख छ हजार खर्च  बाँकी रहेको छ । 

पञ्चेश्वर गाउँपालिकाको रु ४७ करोड ३९ लाख ५८ हजार बजेटमध्ये रु ३९ करोड ३९ लाख २९ हजार खर्च भएको र रु आठ करोड २९ हजार खर्च गर्न बाँकी रहेको हो । शिवनाथ गाउँपालिकाको रु ४० करोड ४२ लाख ३२ हजारमध्ये रु ३४ करोड १८ लाख ६२ हजार खर्च भएको र  रु छ करोड २३ लाख ७० हजार खर्च गर्न बाँकी देखिएको छ । 

सुर्नया गाउँपालिकाको रु ४९ करोड २२ लाख ८१ हजार बजेटमध्ये रु ४४ करोड दुर्ई लाख ७७ हजार खर्च भएको र रु पाँच करोड २० लाख चार हजार खर्च गर्न बाँकी रहेको छ ।  स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण समयमै योजना सम्पन्न नहुने गरेकाले बजेट खर्च कम हुने गरेको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताएका छन् । 

समयमै योजनाका काम सम्पन्न नहुने तथा असारमा आएर योजना सम्पन्न गर्ने र भुक्तानीको काम हुने गरेका छन् । उनले भने , ‘पालिकामा कर्मचारी सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण विवाद भएर काम नहुँदा पनि बजेट कम खर्च हुने गरेको छ ।’