अन्तर्राष्ट्रिय

अमेरिकामा शक्तिशाली भूकम्प

By खबरहब

July 16, 2023

अन्कोराज- अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्कामा ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी टेलिभिजन सञ्जाल एबीसीले जनाएको छ ।

स्थानीय समयअनुसार शनिबार अबेर अलास्काको प्रायद्विपनजिकै स्याण्ड पोइन्टबाट ५५ माइल दक्षिण पश्चिममा भूकम्प गएको राष्ट्रिय मौसम सेवाले जानकारी दिएको छ । यसअघि भूकम्पको तीव्रता ७ दशमलब ४ म्याग्निच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।

अलास्काको कोडिआक क्षेत्रमा भूकम्पको जनाउ दिन साइरन बजेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी मौसम सेवाको सुनामी चेतावनी केन्द्रले सुनामी आएपनि यसबाट कुनै जोखिम नरहने जानकारी दिएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सन् १९०० यता पछिल्लो भूकम्पको केन्द्रविन्दुको २५० किलोमिटरको क्षेत्रमा ७ म्याग्निच्युडभन्दा बढी तीव्रताका ९ वटा भूकम्प गइसकेको छ ।

‘प्रशान्त अग्निचक्र’ भनिने भौगोलिक क्षेत्रमा पर्ने अलास्का भूकम्प र ज्वालामुखीको जोखिममा रहेको बताइन्छ ।