समाचार

प्रधानसेनापति शर्मा र तिब्बत सैनिक कमाण्डका मेजर जनरलबीच शिष्टाचार भेट

By खबरहब

August 16, 2023

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच आज भएको भेटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मेजर जनरल एण्डीको नेतृत्वमा नेपालको पाँच दिवसीय भ्रमणमा आठ सदस्यीय सीमा सुरक्षा टोली आजै आएको हो । उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागरबहादुर थापाले स्वागत गरेका थिए ।

टोलीले सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक सङ्ग्रहालयलगायतका सैनिक इकाई तथा काठमाडौँ र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीयस्थलको भ्रमण अवलोकन गर्नेछ ।

यसखाले भ्रमणले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्नका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्न नेपाली सेनाले विश्वास लिएको छ ।