राजनीति

एमालेका कार्यक्रममा आसनग्रहण नहुने

By खबरहब

August 16, 2023

काठमाडौं – नेकपा (एमाले)ले पार्टीको औपचारिक कार्यक्रमहरुमा अब कसैलाई पनि आसन ग्रहण नगराउने भएको छ । कार्यक्रमहरुमा आसनग्रहण गरेर समय धेरै वर्वाद भयो भन्ने गुनासो आएकाले अबदेखिका कार्यक्रममा आसनग्रहण नहुने पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ फेसबुक ट्वीटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसनग्रहण गराएर समय वर्वाद गर्नु भएन भन्ने सुझाव दिने गर्नु भएको थियो । हो पनि । तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ । ’

अध्यक्ष ओलीले अनुहार नै छोपिनेगरी खादा–माला र कोटभन्दा ठूला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।