समाचार

आवश्यक जनशक्ति नहुँदा ‘क्याथल्याब’ प्रयोगविहीन

By खबरहब

September 16, 2023

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।

अस्पतालमा विशेषज्ञ सेवासहित दुई दर्जन बढी स्वास्थ्य सेवा उपलब्ध छ । अस्पतालमा स्वास्थ्य सेवाका लागि अधिकांश मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीको सङ्ख्या अधिक रहेको छ ।

पछिल्लो समय मानिसको स्वास्थ्यमा जटिल देखिएका मुटु, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीका लागि सहज, सुलभ र प्रभावकारी उपचारको व्यवस्था छैन । बिरामीको उपचारका लागि आवश्यक परीक्षण र उपचारको समेत सहज प्रबन्ध नहुँदा निजी तथा जिल्ला बाहिरका अस्पतालमा पुगेर महँगो सेवा लिनुपर्ने बाध्यता छ ।

यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने करिब १७ करोड बढीका खरिद गरिएका स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्काइएको छ । आवश्यक जनशक्ति र उपकरण सञ्चालनका लागि आवश्यक पर्ने थप उपकरणको व्यवस्था नहुँदा डेढ वर्षदेखि प्रयोगमा आउन सकेका छैनन् ।

पछिल्लो समय मानिसको स्वास्थ्यमा जटिल बन्दै गएको मुटुको स्वास्थ्य सेवा यस अस्पतालले सुरु गरेको छ । यो जटिल रोगका लागि अस्पतालमा बिशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् तर मुटुको उपचारका लागि परीक्षण र थप उपचारका लागि महत्वपूर्ण मानिएको ‘क्याथल्याब’ मेसिन विगत १० महिनादेखि अस्पतालको एउटा कोठामा थन्काएर राखिएको छ ।

लुम्बिनी प्रदेश सरकारले गत वर्ष करिब १० करोडमा खरिद गरेर प्रादेशिक अस्पताललाई उपलब्ध गराएको मुटुको उपचारमा प्रयोग हुने ‘क्याथल्याब’ मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा थन्किएको हो ।

यससँगै प्रादेशिक अस्पतालमा ‘ग्यास्ट्रोइन्टेरोलोजिस्ट’को सेवा प्रदान गर्ने उद्देश्यले करिब डेढ वर्षअघि नै ‘इआरसिपी’ मेसिन र ‘मोटराइज्ड स्पाइलर इन्टेरोसेपी’ मेसिन पनि खरिद गरेर राखिएको छ ।

यी स्वास्थ्य उपकरणमध्ये ‘ईआरसीपी’ मेसिन बिरामीको पित्त तथा कलेजो बाट निस्कने नलीको भागलाई रोग पहिचानका लागि हेर्ने दूरविनबाट हेर्ने र कुनै ठाउँमा पत्थरी रोकिएको रहेछ भने निकाल्ने तथा उपचार गर्ने प्रविधि हो ।

यस्तै ‘मोटराइज्ड स्पाइलर इन्डोसकोपी’ भने बिरामीको आन्द्राको पूरै भागबाट हेरेर रोग पत्ता लगाउने हो । यी उपकरण सङ्घीय सरकारको विनियोजित बजेटबाट करिब छ करोडभन्दा बढी लागतमा खरिद गरिएका हुन् ।

यी उपकरण सञ्चालनमा ल्याउन थप केही उपकरण आवश्यक पर्ने र ती उपकरण आएपछि जनशक्तिको व्यवस्थापन गरेर सञ्चालनमा ल्याइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुदर्शन थापाले बए ।

आधुनिक प्रकारका यी उपकरणसहितको यो सेवा सञ्चालन गर्न ‘ईआरसीपी’, ‘इन्स्टरोस्कोपी’ विषयमा तालिम लिएको डिएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट आवश्यक हुन्छ ।

अहिले नयाँ समिति आएर यसका सरोकारवालासँग ताकेता गरेपछि अबको केही महिनामा ‘क्याथल्याव’ सञ्चालन ल्याउने गरी तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए ।

‘क्याथल्याव’ सञ्चालनका लागि कार्डियोलोजिस्टसहितका स्वास्थ्यकर्मीको व्यवस्थापन भएको र यद्यपि आपत्कालीन अवस्थाको सेवा यसबाट तत्काल दिन सकिने अवस्था नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थापा बताउँछन् ।

सामान्य प्रकारका बिरामीलाई उपचार गर्न मिल्नेगरी अबको तीन महिनासम्ममा ‘क्याथल्याव’ सञ्चालन गर्नेगरी जनशक्ति लगायतका प्रबन्ध भइरहेको मेसु थापाले बताए ।

सरकारले बिरामीको उपचारका लागि ‘क्याथल्याब’ खरिद गरेर लामो समयसम्म पनि सञ्चालनमा आउन नसक्नुको मुख्य कारण आवश्यक जनशक्तिको अभाव रहेको प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले बताए ।

उक्त सेवा सञ्चालनका लागि केही जनशक्ति व्यवस्थापन भइसकेको र अपुग थप जनशक्ति पनि प्रदेश सरकारका तर्फबाट व्यवस्थापनका लागि प्रक्रियाअघि बढिसकेकाले करिब छ महिनाभित्रमा सञ्चालन गर्नेगरि थप प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको सचिव डा. पन्थीले बताए ।