तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

भारतले बंगलादेशलाई किन यति धेरै महत्व दिइरहेको छ ?

By खबरहब

September 16, 2023

काठमाडौँ- अघिल्लो हप्ता भारतको राजधानी नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा भारतले बंगलादेशी प्रधानमन्त्रीलाई पनि विशेष अतिथिका रुपमा आमन्त्रण गरेको थियो । बंगलादेश एकमात्र त्यस्तो छिमेकी देश रह्यो जसलाई भारतले जी–२० सम्मेलनमा यतिधेरै महत्व दियो ।

सेप्टेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासमा तीन देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गरे । जसमा अमेरिका र मरिससका प्रमुखसँगै अर्को नाम थियो बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग शेख हसिनाको सेल्फी तथा बेलायती प्रधानमन्त्री ऋषि सुनकसँगको उनको तस्वीर सोसल मिडियामा निकै चर्चामा रह्यो । यतिमात्र होइन जी–२० को समापनसँगै फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँ ढाका पुगे, जहाँ हसिना आफैं विमानस्थलमा स्वागत गर्नका लागि आइन् ।

त्यसअघि रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभ पनि बंगलादेश गएका थिए । यो कुनै पनि रुसी विदेशमन्त्रीको पहिलो बंगलादेश भ्रमण थियो । जी–२० शिखर सम्मेलनअघि दक्षिण अफ्रिकाको जोहानसबर्गमा भएको ब्रिक्स शिखर सम्मेलनमा पनि बंगलादेशलाई आमन्त्रण गरिएको थियो ।

बंगलादेश न त ब्रिक्सको सदस्य हो न त जी–२० को सदस्य । तर दुबै महत्वपूर्ण वैश्विक मञ्चमा उसलाई विशेष अतिथिको रुपमा आमन्त्रित गरियो । भारत ब्रिक्स र जी २० दुबैको सदस्य हो । यस्तोमा बंगलादेशलाई महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा ठाउँ दिलाउन भारतले कुनै कसर बाँकी छाडेको छैन । यसले दुईवटा प्रश्न उठाएको छ ।

पहिलो, आखिर अन्तर्राष्ट्रिय मञ्चहरुमा बंगलादेशको महत्व किन बढिरहेको छ ? दोश्रो, भारत उसको महत्वलाई लिएर किन यतिधेरै सजग छ ?

पाकिस्तानबाट सन् १९७१ मा टुक्रिएर बनेको बंगलादेशले अहिले विभिन्न विषयहरुमा पाकिस्तानलाई पछाडि पारिसकेको छ । पाकिस्तान भलै परमाणु शक्तिसम्पन्न देश हो, तथापि अन्तर्राष्ट्रिय मञ्चहरुमा बंगलादेशको विश्वसनीयता निकै बढि छ र आर्थिक रुपमा पनि धेरै स्थीर र बलियो पनि छ ।

बंगलादेशलाई लिएर किन यति मुखर छ भारत ?

बंगलादेशको राजनीतिका दुई ठूला तथा प्रमुख अनुहार हुन् बंगलादेश अवामी लिगकी शेख हसिना वाजेद र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की बेगम खालिदा जिया ।

पछिल्लो १४ वर्षदेखि बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिगको सरकार छ र हसिना प्रधानमन्त्रीको कुर्सीमा निरन्तर छिन् । बीएनपीले सन् २०१४ को चुनाव बहिष्कार गरेको थियो र सन् २०१८ को चुनावमा उनले केवल सात सिटमात्रै जितेको थियो ।

नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन केन्द्रका प्राध्यापक सञ्जय भारद्वाजका अनुसार भारत बंगलादेशमा शेख हसिनाको सरकार रहिरहोस् भन्ने चाहन्छ ।

उनी भन्छन्, ‘बंगलादेश नेसनलिस्ट पार्टीको झुकाव इस्लामिक कट्टरपन्थीहरुतर्फ रहेको छ । त्यसले सदैव पाकिस्तानको वकालत गर्दै आएको छ, जसको फाइदा चीनलाई प्राप्त हुन्छ, किनकि चीन पाकिस्तानको मित्र हो । उता अवामी लिग उदार, धर्मनिरपेक्ष, प्रजातान्त्रिक शासनमा विश्वास गर्दछ । सोही कारणले गर्दा भारतले उसलाई प्राथमिकता दिएको हो ।’

सोही कारणले गर्दा भारतले आफ्नो छिमेकमा आफ्नै शत्रु मानेको मुलुकलाई साथ दिने सरकार नबनोस् भन्ने चाहन्छ । विदेशी मामिलाका जानकार कमर आगा भन्छन्, ‘बीएनपीले केवल पाकिस्तान मात्र होइन चीनको पनि समर्थन गर्दछ । भारत र बंगलादेशबीच लामो सीमाक्षेत्र जोडिएको छ । दुई देशबीच पूरानो सामाजिक तथा आर्थिक सम्बन्ध छ जसलाई भारत कमजोर बनाउन चाहँदैन ।’

शेख हसिना सत्तामा रहनुका फाइदा

व्यापारको मामिलामा दक्षिण एसियामै भारतको सबैभन्दा ठूलो साझेदार हो बंगलादेश । एसियामा सबैभन्दा धेरै सामान बंगलादेशले कसैलाई बेच्छ भने त्यो भारत नै हो । यी दुई मुलुकबीच वार्षिक २० अर्ब अमेरिकी डलर भन्दा धेरै व्यापार हुने गर्दछ ।

प्राध्यापक सञ्जय भारद्वाजका अनुसार शेख हसिना सत्तामा आएयता दुई मुलुकले मिलेर धेरै काम गरेका छन् । उनी भन्छन्, ‘भारत आफ्नो एक्ट इस्ट नीतिका लागि बंगलादेशलाई निकै अहम् मान्दछ । हाम्रा पूर्वी राज्य तथा बंगलादेश एक अर्काबाट घेरिएका छन् । त्यहाँ विकास तथा कनेक्टिभिटीका लागि बंगलादेशको साथ आवश्यक छ र यहीँ कुरा उसको हकमा पनि लागू हुन्छ ।’

प्राध्यापक सञ्जयका अनुसार शेख हसिना सरकारभन्दा पहिले जब भारतले कनेक्टिभिटीका लागि बंगलादेशको चटगाउँ बन्दरगाह प्रयोग गर्ने प्रस्ताव गरेको थियो, उसले अस्वीकार गरेको थियो ।

पहिले भारतले अगरतलाबाट सामानलाई कलकत्ता बन्दरगाहसम्म ल्याउनका लागि १५ सय किलोमिटर भन्दा लामो यात्रा तय गर्नु पर्दथ्यो जुन अहिले २ सय किलोमिटर भन्दा कम दूरीमै सामानलाई चटगाउँ बन्दरगाहमा ल्याएर संसारका जुनसुकै ठाउँमा पठाउन सकिन्छ ।

पछिल्लो ८ वर्षमा भारतले सडक, रेलवे, सिपिङ तथा बन्दरगाह जस्ता भौतिक पूर्वाधार निर्माण गर्न बंगलादेशलाई ८ अर्ब अमेरिकी डलरको लाइन अफ क्रेडिट प्रदान गरेको छ । यसका अलावा अखौरा अगरतला रेल लिंक, अन्तर्राष्ट्रिय जलमार्गको ड्रेजिङ् र मैत्री पाइपलाइनका लागि पनि अनुदान दिएको छ ।

प्राध्यापक सञ्जयका अनुसार लाइन अफ क्रेडिटमा अधिकांश विकाससँग सम्बन्धित परियोजना छन् जसले बंगलादेशलाई पर्यटन तथा व्यापारको हिसाबले पूर्वी भारतमा पहुँच प्रदान गर्दछन् । यो एक प्रकारले कर्जा होइन बरु विकास सहायता हो, जसको राम्रो प्रतिफल प्राप्त हुन्छ । यसले चीनले जस्तो बंगलादेशलाई ऋणको पासोमा नफसाउने दाबी उनको छ ।

वर्षौँदेखि श्रीलंका, बंगलादेश, पाकिस्तान तथा नेपालसँगको भारतको सम्बन्धका विषयमा दस्तावेजहरु संकलन गरिरहेका लेखक अवतार सिंह भसिन भन्छन्, ‘शेख हसिना एक समझदार नेता हुन् । उनलाई थाहा छ कि भारतसँग राम्रो सम्बन्ध कायम गर्दा उनलाई फाइदा हुनेछ । यो कुनै भारत परस्त वा भारत विरोधी कुरा होइन । हरेक देश आफ्नो फाइदालाई हेरेर अगाडि बढ्छ ।’

विदेशी मामिलाका विज्ञ कमर आगा भन्छन्, ‘नेपाल, श्रीलंका तथा बंगलादेश जस्ता देशहरु भारत र चीनबीचको शत्रुताको दोहन गरिरहेका छन् । उनीहरु भारतबाट एक दुईवटा परियोजना लिन्छन् भने एकदुईवटा परियोजना चीनबाट लिन्छन् । यी देशहरु भारतबीच बाँच्न मुस्किल छ ।’

सुरक्षाका हिसाबले आवश्यक सम्बन्ध

भारत र बंगलादेशबीच ४ हजार किलोमिटर सीमाना जोडिएको छ । चीन तथा पाकिस्तान जस्ता देशहरुको चुनौतिलाई मध्यनजर गरी भारतका लागि यस क्षेत्रमा यस्तो सरकारको आवश्यकता छ जोसँग उसको मित्रता होस् ।

शेख हसिना भन्दा अगाडिको सरकारले उत्तरपूर्वी भारतमा पृथकतावादीलाई मलजल गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको जिकिर कमर आगाको छ । बंगलादेशका शिविरहरुबाट पूर्वोत्तर भारतमा पृथकतावादी अन्दोलनलाई जुन प्रकारले समर्थन प्राप्त भैरहेको थियो त्यसलाई दबाउनमा पनि शेख हसिना सरकारले अहम् भूमिका खेलेको थियो ।

त्यहाँ रहेका पृथकतावादी आन्दोलनका ठूला नेताहरुलाई बंगलादेशले पक्रिएर भारतलाई सुम्पिएको थियो, जसमा उल्फा नेता अरविन्द राजखोवा लगायतका विभिन्न पृथकतावादी नेता थिए । अहिले उनीहरु भारत सरकारसँग शान्तिवार्ता गरिरहेका छन् ।

बंगलादेशका लागि क्षेत्ररक्षण गर्दैछ भारत ?

सन् २०२१ को डिसेम्बरमा अमेरिकाले बंगलादेशी अर्धसैनिक बल र्‍यापिड एक्सन बटालियन (आरएबी) र त्यसका केही अधिकारीहरु माथि प्रतिबन्ध लगाएको थियो । गत मेमा अमेरिकाले बंगलादेशको चुनाव प्रक्रियालाई प्रभावित पार्ने प्रयास गर्ने व्यक्तिहरुमाथि भिसा प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो ।

राजनीतिक दलहरु, नागरिक समूह तथा सञ्चार माध्यमको अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित गर्नेमाथि यस्तो कदम उठाउन सकिने अमेरिकाले बताएको थियो । अमेरिका र युरोपेली युनियन सम्बद्ध देशहरुले बंगलादेश सरकारमाथि स्वतन्त्र तथा निष्पक्ष चुनाव गर्नका लागि दबाब दिइरहेका छन् । त्यसले बंगलादेशको विपक्षी बीएनपी दललाई बल पुगिरहेको छ ।

हालैका महिनाहरुमा बीएनपीले बंगलादेशमा धेरैवटा ठूला राजनीतिक र्‍यालीहरुको आयोजना गरेको छ । प्राध्यापक सञ्जय भारद्वाज भन्छन्, ‘बंगलादेश सरकार र अमेरिकाको बीचमा अवश्यपनि केही मुद्दाहरुमा तनाव छ । तथापि जी २० शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्ती ऋषि सुनक तथा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग शेख हसिनाको जुन भेटघाट भयो, त्यसले सम्बन्धमा जमेको बरफलाई पगाल्नेछ । पछिल्लो दशकमा के सावित भएको छ भने शेख हसिना भारतका लागि असल सावित भएकी छिन्, यस्तोमा भारत उनका लागि क्षेत्ररक्षण गर्नेछ र गरिरहेको छ ।’

यसबाट बंगलादेशको अमेरिकासँगको सम्बन्ध पनि राम्रो हुने र उसमाथि रहेको दबाब पनि कम हुने राजनीतिक विश्लेषक बताउँछन् । विश्लेषक आगा भन्छन्, ‘अमेरिका र युरोपका ठूला टेक्स्टाइल कम्पनीहरुले बंगलादेशसँग सम्झौता गरिरहेका छन् तर उद्योग तथा प्रविधिको क्षेत्रमा यस्तो छैन । सम्बन्ध सुधार भएसँगै केही ठूला परियोजना बंगलादेशलाई प्राप्त हुनसक्छ ।’

उनी भन्छन्, ‘अमेरिकाको इण्डो प्यासिफिक रणनीतिका लागि पनि बंगलादेशको साथ आवश्यक छ ।’

फ्रान्सको विरुद्धमा अफ्रिकामा विभिन्न गुट बनिरहेका छन्, यस्तोमा फ्रान्सले अर्धविकसित तथा विकसित देशहरुसँग राम्रो सम्बन्ध बनाइरहेको छ । अमेरिका र युरोप पनि बंगलादेश चीनतर्फ नजाओस् भन्ने चाहन्छन् । किनकि म्यानमार तथा श्रीलंकाको झुकाव पहिले नै चीनतर्फ रहेको छ भने नेपालमा पश्चिमका प्रति लगाव छैन । यस्तोमा ऊ दक्षिण एसियामा अलग थलग हुन चाहँदैन ।

स्रोत- एएनआई