देश/प्रदेश

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

By खबरहब

September 16, 2023

गोरखा– गोरखामा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।

अजिरकोट गाउँपालिकाको भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ ख ९७३६ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कुमाललाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पुर्‍याइएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक ४९ वर्षीय रेशम गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।