देश/प्रदेश

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

By खबरहब

September 16, 2023

सिन्धुपाल्चोक– चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बाप्र-०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए ।

ठक्कर दिने ट्यांकर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ ।