फाइल फोटो

समाचार

पर्वतको बिहादीमा मृत अवस्थामा चितुवा फेला

By खबरहब

October 16, 2023

पर्वत– पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा मृत अवस्थामा चितुवा भेटिएको छ । आइतबार साँझ बाच्छाको गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको हो । 

स्थानीयले खबर गरेलगत्तै डिभिजन वन कार्यालय पर्वतका कर्मचारी र बाच्छा प्रहरी चौकीको टोली उक्त स्थानमा पुगेको थियो । मृत चितुवालाई कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहबरमा बाच्छा प्रहरी चौकीको परिसरमा गाडिएको छ । 

डिभिजन वन कार्यालय पर्वतका प्रमुख नवराज बरालका अनुसार झण्डै दुई वर्षजति उमेरको देखिने चितुवा के कारणले मरेको भन्ने पुष्टि हुनसकेको छैन । चितुवाको शरीरमा कुनै घाउ चोट भने नदेखिएको बरालले बताए । चितुवा केही दिन अघिनै मरिसकेको र बताउँदै सड्न थालेर गन्धसमेत आउन थालेको बताए।

गत आर्थिक वर्षमा पर्वतमा नौ वटा चितुवा मृत फेला परेका थिए भने दुई वटाको जीवितै उद्धार गरिएको थियो । चालु आवमा गत भदौ १४ गते मोदी गाउँपालिका–७ राम्दादेउरालीमा चितुवा मृत भेटिएको थियो ।