फाइल फोटो

समाचार

पल शाहविरूद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति

By खबरहब

December 16, 2023

काठमाडौँ– सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुँयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो ।

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो ।

उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो।

पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरूको समुचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर  छ ।

शाहले बलात्कार गरेको भन्दै एक नाबालिग पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् ।