फाइल फोटो

अन्तर्राष्ट्रिय

रूसको चुनावमा हस्तक्षेप गर्नेलाई कडा सजाय दिने पुटिनको चेतावनी

By खबरहब

December 16, 2023

मस्को– आगामी वर्षको निर्वाचनमा विदेशी हस्तक्षेप भएमा यसको विरुद्धमा रूसले ‘कठोर’ कदम लिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले विपक्षी नेताहरूले विदेशमा रहेर आफूविरूद्ध निर्वाचन अभियान चलाउनसक्ने सम्भावनालाई संकेत गर्दै विदेशमा बसी स्वदेशी अभियानलाई प्रभावित पार्न खोज्ने जोकोही पनि रूसी कानुनको कठघरामा उभिनुपर्ने चेतावनी दिएका छन्।

संसद्को तल्लो सदन डुमामा पार्टीका नेताहरूसँगको भेटमा पुटिनले भने, ‘रूसको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेपलाई रूसी कानुन अनुसार दण्डित र कठोर सजाय दिइनेछ ।’

उनले भने, ‘हामी हाम्रा जनताको स्वतन्त्रता, सार्वभौमिकता र आफ्नो भविष्य रोज्ने अधिकारको रक्षा गरिरहेका छौं । हाम्रो देशमा शक्तिको स्रोत केवल रूसका जनता मात्र हुन् ।’

गत वर्ष युक्रेनको युद्धभूमिमा पश्चिमा प्रतिबन्ध र असफलताको सामना गर्नुपरेका पुटिन सन् २०२३ को अन्त्यमा थप उत्साहित देखिएका छन् । पछिल्लो समय बहुचर्चित युक्रेनी प्रतिआक्रमणले रूसी रेखाहरू तोड्न असफल भएको छ, अर्थव्यवस्था सुधार भइरहेको छ, र कीभको लागि पश्चिमी समर्थन कमजोर भएको देखिन्छ, अमेरिकी कंग्रेस र युरोपेली सङ्घमा नयाँ सहायता कार्यक्रमहरू रोकिएका छन् ।

पुटिनले पछिल्लो समय युक्रेनी सैनिकलाई कैदीका रूपमा पक्राउ गर्ने क्रम ह्वात्तै बढेको बताएका छन् । गत हप्ता उनले मार्च २०२४ को चुनावमा पाँचौं कार्यकालका लागि राष्ट्रपतिपदका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका थिए । प्रभावशाली विपक्षी नेताहरू जेलमा रहेकाले लगभग २५ वर्ष सत्तामा रहेका पुटिनलाई आफ्नो विजय यात्रा सहज बनेको छ । 

विशेष गरी भ्रष्टाचार विरोधी अभियानकर्ता एलेक्सी नाभाल्नीलगायत अधिकांश प्रमुख रूसी विपक्षी नेताहरू जेलमा थुनिएका छन् वा निर्वासित जीवन बिताइरहेका छन् ।