अन्तर्वार्ता

यस्तै पारा हो भने प्रचण्ड सरकारको औचित्य छैन : उपेन्द्र यादव

By खबरहब

December 16, 2023

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको गठबन्धन सरकार ढल्ने हो कि भन्ने चर्चा बेला–बेलामा हुने गर्छ । नेपाली कांग्रेसको शेखर–गगन समूहले सरकारको विरोध गरिरहेको र नेकपा एमालेले पनि राप्रपा, रास्वपा लगायतका दलहरुसँग भित्री ‘होमवर्क’ गरिरहेको सुलह पनि बेलाबखत फैलने गरेको छ ।

यसैबीच प्रतिनिधिसभामा १२ सिटको प्रतिनिधित्व रहेको जनता समाजवादी पार्टी (जसपा) ले मंसिर २७ गते सरकारलाई ५३ बुँदे ज्ञापनपत्र बुझाएको छ । त्यहाँ उल्लेखित मागहरु पूरा नभए गठबन्धन सरकारको औचित्यमाथि प्रश्न उठाउने जसपाको तयारी छ ।

यसै सन्दर्भमा शनिबार खबरहबले जिज्ञासा राख्दा जसपा अध्यक्ष उपेन्द्र यादवले आक्रमक शैलीमा भने, ‘सरकारको कामप्रति को खुसी छ ? मैले त्यस्तो मान्छे नै भेटिनँ ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता यादवले अगाडि थपे,‘कार्यशैली र कार्यमा सुधार गर्न नसके यो सरकारको औचित्य छैन ।’

प्रस्तुत छ, जसपा अध्यक्ष यादवसँग खबरहबले गरेको संक्षिप्त टेलिफोन वार्ता–

सरकारमा बसेर पनि तपाई सरकारकै विरोध गरिरहनुभएको छ ? प्रधानमन्त्रीलाई ५३ बुँदे ज्ञापनपत्र पनि बुझाउनुभयो, यो त दोह्रोरो चरित्र भएन र ?

मैले पटक–पटक भन्दै आएको छु, सरकारले जवाफदेही ढङ्गबाट काम गर्न सकेन । मेरो धारणा के हो भन्ने कुरा सरकारलाई बुझाएको ५३ बुँदे पत्रमा नै उल्लेख भएको छ । कार्यशैली र कार्यमा सुधार गर्न नसके यो सरकारको औचित्य छैन । सरकारको कामप्रति को खुसी छ ? मैले त्यस्तो मान्छे नै भेटिनँ । हामी सरकारमा छौँ, हामी खुसी भएको र दुःखी भएको के अर्थ हुन्छ र । तर, बाहिर खुसी भएको र सन्तुष्ट भएको मान्छे नै भेटेको छैन ।

यहाँहरू सत्ता गठबन्धनमा हुनुहुन्छ तर सरकारको कामको आलोचना गर्दै हुनुहुन्छ । सरकारमै बसेर यो त अलि सुहाएन नि । बाहिर उपेन्द्र यादवलाई के पुगेन भन्ने कुरा आएको छ ?

गठबन्धनमा हाम्रो सहयोगी भूमिका मात्र छ । जसका लागि सहयोग गरियो, त्यसको निर्णय महत्वपूर्ण हुन्छ । असर त्यसले गर्छ । सत्ता हामी मधेसको, जनजातिको हातमा छैन । हामी निमित्त पात्र मात्र हो । प्रधानमन्त्रीलाई सहयोग मात्र गरेको हो । त्योभन्दा ठूलो केही छैन । हामी निर्णायक तहमा छैनौं । प्रधानमन्त्रीलाई सफल बनाउन सहयोग मात्र गरेको हो ।

यहाँहरूले यसो भनिरहँदा सरकारको आयुमै प्रश्न खडा भएन र ? उसो भए यो सरकारको आयु कति छ ?

म चाहन्छु, सरकारको आयु लामो होस् । दीर्घायु होस् । ५ वर्षसम्म चलोस् । तर, हाम्रो इच्छा र चाहानाले परिणाम ल्याउँदैन । सरकार र सरकारको नेतृत्व गर्नेले खेल्ने भूमिकाले आयु निर्धारण हुन्छ । आयुको अनुमान अहिले नगरौँ । हाम्रो इच्छा त लामै जाओस् भन्ने छ ।

तपाईले सरकारको कामप्रति सन्तुष्ट छैनौं भन्नुभयो । फेरि यही गठबन्धन टिकाउने र लामो बनाउने चाहना छ भन्दै हुनुहुन्छ । राष्ट्रियसभा निर्वाचनमा पनि यही गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने पक्षमै हुनुहुन्छ, खास कुरो के हो ?

सरकार कति भत्काइराख्ने–बनाइराख्ने भनेर हो । हामी सुधार गरेर अगाडि बढ्ने पक्षमा छौँ । अब हेरौं । हामीले त सुधार गर्नका लागि अवसर दिइरहेका छौँ । हामीले दिएको प्रस्तावमा पनि यही कुरा भनेका छौँ ।

संघीय सरकारमा मन्त्रालयको संख्या घटाउने, प्रदेशका अधिकार प्रदेश सरकारलाई नै दिने, अनावश्यक खर्च कटौती गर्ने, स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र राख्ने जस्ता आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्न सुझाव दिइएको छ। संविधान बमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका विभिन्न मन्त्रालय मातहतका निकायहरू यथाशीघ्र हस्तान्तरण गर्न पनि सुझाव दिइएका छौँ । हेर्दैछौँ, कसरी अगाडि बढ्ला ।