ब्रेकिङ स्टोरी

ब्लग : मेरो बिहे नभाको राइडरलाई चासो !

By सीता न्यौपाने

December 16, 2023

घटना-१

मैले नयाँ बानेश्वरबाट पुल्चोकका लागि पठाओलाई ‘रिक्वेस्ट’ पठाएँ । दुई मिनेटमा पठाओ पिकअप बिन्दुमा आइपुग्यो । आफ्नो गन्तव्यमा लागेँ । पुल्चोक मलाई एउटा अफिसमा जानुपर्ने थियो । त्यो अफिसमा पहिले गएकी थिइनँ, गुगल म्याप हेरेर नै पठाओलाई रिक्वेस्ट पठाएकी थिएँ । अफिसमा पुग्दा मैले बोर्ड देखिनँ । मान्छेहरूको पनि चहल-पहल थिएन । कोही पनि भेट नहुने भएपछि म त्यही पठाओमै फेरि नयाँबानेश्वर फर्किने प्लान बनाएँ । त्यो राइडरलाई एकछिन पर्खिन भनें । उसले पर्खियो पनि । 

मलाई र राइडरलाई गेटमा देखेर एक सुरक्षा गार्ड के होला ? भन्दै सोध्दै आइपुगे । मैले आफ्नो कुरा सुनाएँ । तर अफिस ७ महिना अगाडि नै एकान्तकुना सरेको रहेछ । तर गुगलले पुरानै ठाउँ देखायो । म त्यहीँबाट सोही पठाओमा फर्किएँ । फर्कँदा अर्को रिक्वेस्ट पठाउन आवश्यक ठानिनँ । 

फर्किँदै गर्दा बाटोमा मनमनै भाडा मिलाएँ । जाँदा जति, आउँदा पनि त्यति नै । ५० रुपियाँ थपेर दिनुपर्ला भन्ने पनि लाग्यो । हेर्दा कलेज पढ्ने जस्तो  । २०-२१ वर्षको केटोले मिहिनेत गरेको छ । उसले पाँच सात मिनेट मलाई कुर्यो पनि । ५० रुपियाँ टिप्स डिजर्व गर्छ यो मान्छेले भन्ने लाग्यो ।

लागेको पैसा र टिप्स गरेर टोटल पाँच सय रुपियाँ भयो ।

मेरो गन्तव्यमा पुगेपछि उसलाई पाँचसय रुपियाँ झिकेर दिएँ र धन्यवाद भाइ भने । उसले दिदी, पैसा पुगेन भन्यो ।

कति पुगेन ?

उसले अझै तीन सय दिनुस् भन्यो । म अचम्ममा परें ।  सोधें, कसरी आठ सय ? हिसाब गर्न मलाई पनि आउँछ नि ।

मलाई फर्किने बेला पनि रिक्वेस्ट नपठाएर गल्ती गरेको महसुस भयो । डाटा अन गरेर रिक्वेस्ट पठाउनु भन्दा नेटको पैसा यसैलाई दिन्छु भनेर सजिलोतिर लागियो । त्यही सजिलोले अब अप्ठ्यारो स्थिति सिर्जना गर्‍यो । 

मैले उसलाई हिसाब गरेर आफ्नो लागेको पैसा लिएर जाउ भने । तर, उसले मलाई सात मिनेट कुरेको भन्दै एक्ट्रा साढे तीनसय रुपियाँ मागेर दिमाग खराब गर्न थाल्यो । मैले पनि यसैकसै उसलाई त्यत्रो पैसा किन दिनु ? उसले आफ्नो हठ छोडेन, मैले मेरो । 

उसले नदिने भए कति पनि नदिनु भन्न थाल्यो । फ्रीमा त मलाई पनि कसैको सेवा चाहिएको थिएन । मैले बारम्बार ठूलो कुरा नगर भाइ, आफ्नो लागेको पैसा लिएर जाउ भन्दा पनि मानेन । एक त मलाई आफ्नो काम नबनेकोले टेन्सन भइरहेको थियो, दोस्रो मलाई यस्तो अनावश्यक कुरामा राइडरसँग मुख लाग्नुपरेकाले झनै रिस उठ्न थाल्यो । 

म मिहिनेतको कमाइ खाने मान्छे हुँ । फोकटमा पैसा बाटेर हिँड्न, कसैलाई ठगेर, लुटेर बसेको छैन । लागेको पैसा लिएर जाने भए जाउ, नलिने भए केही छैन । ल ८ सय दिन्नँ, तिमी गए हुन्छ भन्दिएँ । तर, त्यति रिस उठ्दा पनि मलाई उसको मिहिनेतको कमाइ नदिई हिँड्न मन लागेन । पाँच सय रुपियाँ लिएर हात अगाडि बढाएँ । उसले समायो पनि । बाइक फर्कायो ।

उसलाई मैले हेरिरहें । थोरै अगाडि पुगेर त त्यसले मलाई अश्लील गाली गरेर पो सुइँकियो ।

म थरथर भएँ । ए भगवान ! आज कसको मुख हेरेर निस्केको थिएँ होला । म कहाँ फोन गरुँ? कसलाई भनुँ? यो दुर्व्यवहारको सामना गर्नै गाह्रो भयो । म नर्मल भएर बस्न सकिनँ । 

त्यसपछि पठाओ कम्पनीलाई फोन गरेर कम्प्लेन गर्छु भन्ने आयो । कमसेकम यति त कम्पनीले सुन्नुपर्छ । फोन गर्दै थिएँ, फेरि एउटा कुरा याद आयो । फर्किने बेला मैले राइडरलाई रिक्वेस्ट नपठाई आएकी थिएँ । कम्पनीले यही कुरामा निहुँ खोज्ला । तपाईं जत्तिको पढेलेखेको मान्छेले रिक्वेस्ट नपठाई हिँड्ने हो ? भनेर सोध्ला । 

त्यहाँ पनि नाजवाफ हुनुपर्ने स्थिति आउँछ । त्यो राइडरले बोलेको शब्दले मेरो मनमा ज्वारभाटा उठे पनि आफ्नै कारणले मलाई यो विषयमा चुप लाग्न बाध्य बनायो । आफ्नै लापरवाहीले अब आइन्दा ‘अफलाइन’ राइडरमा हिँड्न नहुने पाठ सिकायो । 

घटना–२ अनामनगरबाट नयाँबानेश्वर पुग्नुपर्ने थियो । इनड्राइभ बुक गरेँ । त्यसमा  बागेर्निङ गर्न मिल्ने अप्सन हुन्छ । मैले १० रुपियाँ बार्गेनिङ गरेँ । पानी पर्न लागेको थियो, त्यो राइडरलाई छिटो बानेश्वर पुर्‍याइदेऊ भनें ।

हनुमानस्थानको मन्दिरनिर पुगेपछि त्यो राइडरले दिदी तपाई कति लोभी हो, १० रुपियाँको बार्गेनिङ गरेर बस्नुहुन्छ । हेर्दा भने यति राम्रो जुत्ता, लुगा लगाउनु भएको छ, अनि १० रुपियाँ बार्गेनिङ गरेको सुहाएन भन्यो । 

मलाई झनन रिस उठ्यो । तिमीले किन एसेप्ट गरेको त ? भनेर प्रश्न गरें । जसरी मलाई बार्गेनिङ गर्ने अप्सन हुन्छ, त्यसरी तिमीलाई एसेप्ट नगर्ने पनि अप्सन हुन्छ । एसेप्ट गरेर तिमी आउने, अहिले बीच बाटोमा लोभी र सोभी भन्दै बस्ने ? भनेर कराइदिएँ । नरिसाउनु न दिदी, हामीजस्तो भाइहरूलाई  ४०/५० रुपैयाँ बढी दिएर तपाईं गरिब हुनुहुन्न भन्यो । 

म एउटा मिटिङ एटेन्ड गरेर दिमागमा ५० तनाव लिएर निस्केकी थिएँ । १० होस् वा पाँच रुपियाँ, बार्गेनिङ गर्न मिल्ने अप्सन हुन्छ , मैले त्यो अप्सनको प्रयोग गरेँ । सिस्टमबाट चल्ने कुरामा किन अनावश्यक कुराकानी ? यो देशमा कुनै कुरामा सिस्टम छैन । पाइला–पाइलामा नचाहिने विषयमा नागरिकले दुःख पाउँछ । कतिपय ठाउँमा बाझ्नुपर्छ , ठूलो आवाज गर्नुपर्छ । तर, सिस्टममा चल्ने कुरामा पनि जवाफदेही हुनु नपर्ने ? कस्तो सिस्टम हो ? कस्तो देश हो यो ?

घटना–३ नयाँबानेश्वदेखि कलंकी पुग्नुपर्ने थियो । पठाओ बोलाएँ तर उसलाई ‘पिकअप डेस्टिनेसन’ बारे केही मेसो छैन । १० मिनेट बितिसक्यो, आइपुग्दैन । त्यसपछि फोन गरें । चोकबाट उसले मेसो पाइनँ भन्यो । यसरी–यसरी हुँदै आउनु भनेको पनि उ ‘पिकअप डेस्टिनेसन’ आउन सकेन । चोकमा आफैँ गएर लिएर आएँ । नयाँ होला, सिक्दै होला भन्ने लागेर रिक्वेस्ट क्यान्सिल गर्न मन लागेन । 

मैले पनि आफ्नो क्षेत्रमा काम गर्ने क्रममा नयाँ हुँदा पुराना कर्मचारीले गरेको हेपाइ बिर्सिएकी थिइनँ । काम गर्दै गएपछि सिकिन्छ, नयाँलाई मौका दिनुपर्छ जस्तो लाग्छ । त्यही भएर पनि म राइडरलाई चोकमै लिन पुगें । नत्र पठाओलाई चोकमा लिन जानुपर्ने त होइन ।

 त्यसपछि हामी कलंकीतिर लाग्यौं । उसले मलाई घर जान लागेको ? भनेर सोध्यो । मैले हो भनेर जवाफ दिएँ । घर कहाँ हो ? भनेर पनि सोध्यो । कतिमा पढ्नुहुन्छ ? के काम गर्नुहुन्छ ? उसले सोधेका कुराहरूको जवाफ दिए पनि म इरिटेड हुन थालें । के यो आवश्यक छ ? उसका प्रश्न जायज हुन् ? यस्तो कुरा दिमागमा आइसकेको थियो । तर पनि हामी नेपालीलाई मन नपरेको कुरा झेल्नुपर्ने बानी लागिसकेको हुन्छ ।  तपाईँ चुप लाग्नुस् भने पनि हुन्थ्यो, तर रुढ बन्न मन लाग्दैन ।

मैले केही नसोधे पनि उसले आफूले अमेरिकी एम्बेसीमा सुरक्षा गार्डको काम गरिरहेको सुनायो । चार जनालाई एम्बेसीमा सरसफाइमा काम लगाइदिएको पनि सुनायो । सरसफाइको काम गर्नेको पनि त्यहाँ ७० हजार तलब हुने कुरा सुनायो ।

यी सब कुरा मैले झेल्दै गएँ । रविभवननिर पुगेपछि उसले तपाईले किन बिहे नगर्नुभएको भनेर प्रश्न गर्यो । मैले आफूलाई कन्ट्रोल गर्नुको सीमा रहेन । आफ्नो कामसँग ध्यान राख्नुस् भन्दिए । 

त्यसपछि पनि उ चुप बस्न सकेन । दिदी, तपाई त कस्तो विदेशी जस्तो भन्न थाल्यो । हामी नेपालीहरूको बानी त सार्वजनिक बसमा पनि एक अर्का यात्रुसँग बोल्ने खाजा बाँडेर खाने चलन पो हुन्छ । एउटै बाइकमा बसेर बोल्दै नबोली हिँड्न कसरी सकिन्छ ? बोल्दै गएपछि एक अर्काको सुख–दुःख थाहा हुन्छ । मैले कतिलाई त दस्तुरमा डिस्काउन्ट गरिदिएको छु, उनीहरूको कुरा सुनेर । समस्या छ भने भन्नु, म डिस्काउन्ट गर्दिन्छु ।

मलाई कतिबेला गन्तव्यमा पुगौंला भयो । यो राइडरबाट छुटकारा पाउनु नै मेरा लागि ठूलो राहत हुने थियो । सुख–दुःख सुनाउने रे मैले, अनि उसले मलाई डिस्काउन्ट दिने रे ! गन्तव्यमा पुगेपछि २० रुपियाँ थपेर दिएँ । उसको मुख नहेरी म आफ्नो ब्याग बोकेर निस्कें । उ मलाई कति छुची भन्दै फुसफुसाउँदै थियो । मैले फर्केर हेरिनँ ।

बिहानै दिमाग खराब भएपछि, दिनभर म आफूलाई डिस्टर्ब पाउँछु । त्यो राइडरले मेरो दिन खराब गर्यो । 

घटना– ४ बसुन्धरामा एकजना दिदीकोमा पार्टी एटेन्ड गर्न गएकी थिएँ । रात उतै बस्ने गरी । पार्टी गर्दा गर्दै मेरो पिरियड भयो ।

दिदीले बस्न भने पनि मलाई पिरियडमा अर्काको घर असजिलो लाग्छ । पठाओ पाइहाल्छ, तत्काल पुगिहालिन्छ भनेर दिदीलाई सम्झाएँ र निस्किएँ । 

छोटो बाटो लैजान्छु भन्दै राइडरले महाराजगञ्जको चोकबाट भित्र छिरायो ।

त्यो भित्री बाटो खाल्टै–खाल्टो परेको रहेछ । मलाई त्यो बाटो हिँड्नै मुस्किल पर्यो । त्यस्तो बाटोमा पनि त बाइक चलाउने तरिका हुन्छ । मुटु बाहिर निस्केला जस्तो भयो । त्यसमाथि पिरियड भएको मान्छे । चार दिनमा बग्ने ब्लड त्यही दिन सकिन्छ जसरी त्यो राइडरले उफार्यो । 

सहनै नसकेपछि मैले आफूलाई सन्चो नभएको र बिस्तारै चलाउन अनुरोध पनि गरेँ । तर, उसले बाइक भनेको बिस्तारै चलाउन बनेको साधन होइन भनेर पो जवाफ दियो । दिदी त कस्तो डराउनु हुँदो रहेछ । मेरो गर्लफ्रेन्ड डराउँदैन , उसले ७०-८० को स्पीडमा चलाउन भन्छे । मेरो गर्लफ्रेन्ड जत्तिको हुनुपर्यो के दिदी !

भनेकै नमान्नेसँग गर्ने के हो ? कतिबेला बाइकबाट खसाल्छ भनेर आफ्नो ज्यान जेगाउतिर ध्यान केन्द्रित भयो । 

ज्ञानेश्वर चोकमा प्रहरी थिए । यतै वरबाट दिदी मैले थोरै मापसे गरेको छु । म बाइक फर्काएर कालोपुल हुँदै लैजान्छु भन्यो ।

मैले मापसे गरेर बाइक चलाउने हो भनेर गाली गरेँ । रातिमा अलिकति नखाई कसले चलाउन सक्छ ? निन्द्रा मारी–मारी तपाईँहरूको सेवा गरेको छु । थोरै त चढाउनुपर्यो नि भन्यो । 

राम्रो बाटो आएपछि उसले फेरि उस्तै स्पीडमा चलाउन थाल्यो । मैले जति भने पनि मनमर्जी गर्नबाट रोक्न सकिनँ । आज यसले जिउँदै घर पुर्याइदिँदैन भन्दै मैले भगवान पशुपतिनाथ जप्न थालें । हे भोलेनाथ मेरो ज्यान अब हजुरकै हातमा सुम्पेँ । 

यहाँ केही घटना उल्लेख गरिएको छ । तर यस्ता घटना धेरैले सामना गर्नुपरिरहेको छ । पठाओ, इनड्राइभ एक व्यक्ति मात्र होइन, एक राइडर मात्र होइन, यो एक कम्पनी  पनि हो । एक राइडरले कम्पनीको गरिमा बोकेर हिँड्ने कि नहिँड्ने ? उनीहरूले यात्रुसँग कति बोल्ने र कति नबोल्ने भन्ने कुराको मापन कम्पनीले गर्ने कि नगर्ने ? अनुशासन, संयमता यी राइडरहरुले देखाउने कि नदेखाउने ?