राजनीति

एमालेका मन्त्री पौडेल र साहबाहेक सबै नयाँ  

By खबरहब

January 17, 2023

काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा नेकपा एमालेले दुई जनाबाहेक सबै मन्त्री नयाँ बनाएको छ । विगतमा जस्तै पटक पटक मन्त्री बन्ने सूचीमा यसपटक एमालेमा विष्णु पौडेल परेका छन् । पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन् । ज्वाला साह कृषि मन्त्री बन्ने भएकी छन्। साह पनि यसअघि राज्यमन्त्री भइसकेकी अनुहार हुन्।

एमाले अध्यक्ष केपी ओलीले बाँकी छ मन्त्री सबै नयाँ अनुहार छानेका छन् । जसमा दामोदर भण्डारी उद्योग, डा. विमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमिसुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका र हरिप्रसाद उप्रेती रक्षामन्त्री नियुक्त हुने भएका छन् ।

आजै प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई नियुक्त गर्ने भएकी छन् । मन्त्री बन्न लागेकामध्ये विमला राई राष्ट्रिय सभा सदस्य हुन् । सरकारमा राष्ट्रिय सभाबाट पनि प्रतिनिधित्व हुनुपर्ने भन्दै एमाले नेतृत्वमाथि दबाब परेको थियो ।