देश/प्रदेश

विमान दुर्घटनामा परेका क्याप्टेन केसीको गाउँ शोकमा

By खबरहब

January 17, 2023

काठमाडौँ- आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका क्याप्टेन कमल केसीको पुर्ख्यौली गाउँ शोकमा डुबेको छ । इमान्दार र सहयोगी गाउँले गुमाउनुपर्दा गाउँका सबैका आँखा रसाएका छन् । कास्कीको रुपा गाउँपालिका–३ पोल्याङमा रहेको पुर्ख्यौली घरमा रहेकी कान्छी आमा ७९ वर्षीया देवीलाई सान्त्वना दिन गाउँलेहरु भेला हुने गरेका छन् ।

गत दसैँको अष्टमीको दिन पोल्याङमा परिवारका सबै भेला भई रमाइलो गरिएको नै अन्तिम भएको कान्छी आमा देवीले बताइन् । “दसैँमा सबै जना जमघट भएर निकै रमाइलो गरिएको थियो । कमलले गाउँलेहरुसँग पनि भेटघाट गरेका थिएँ”, उनले भनिन्, “अब सम्झिनुबाहेक केही रहेन । यो जन्ममा यत्तिकै हुने भो ।”

घरधन्दामा व्यस्त रहेका बेला आफूलाई नाताले बुहारी पर्ने स्थानीय अप्सरा केसीले कमलले चलाएको जहाज दुर्घटनामा परेको भनेर सुनाएपछि रोएरै दिनरात बिताएको देवीले जानकारी दिइन् । दुर्घटनामा देवर गुमाउनुको पीडाले आफूहरुलाई काम गर्ने उत्साह पनि नआएको अप्सराले बताइन् । “यसरी अकालमा कोही पनि मर्न नपरोस्”, उनले भनिन्, “हामी जस्तै धेरैको परिवार शोकमा पर्नुभएको छ । सबैको आत्माले शान्ति पाओस् ।”

सानैदेखि पढ्नमा चलाख र मिजासिला स्वभावका कमलले स्थानीय जनता मावि (तत्कालीन महेन्द्रज्योति प्रावि) मा कक्षा ४ देखि ५ सम्म अध्ययन गरेका थिए । त्यसअघि कमल कास्कीकै फल्याङकोटमा अध्ययन गर्थे । जनता माविबाट कक्षा ५ पूरा गरेपछि थप शिक्षाका लागि कमल काठमाडौँ हानिएका थिए ।

“कमल दाइ यहाँको विद्यालयमा पढ्दा निकै चलाख र मिलनसार हुनुहुन्थ्यो”, जनता प्रावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका स्थानीय बलभद्र कुमालले भने, “हामी सानालाई निकै माया गर्नुहुन्थ्यो र ठूलालाई आदर गर्ने स्वभाव थियो ।”

काठमाडौँबाट हरेक पटक गाउँ आउँदा आफूलगायत गाउँका बासिन्दालाई कमलले सन्चोबिसन्चो सोध्ने गरेको कुमालले बताए । “म यस्तो उस्तो भनेर कमल दाइले कहिल्यै घमण्ड गर्नुहुन्थेन,” कुमालले भने, “आँखामा राखे पनि नबिझाउने मान्छेलाई गुमाउँदा हामी गाउँले ठूलो शोकमा परेका छौँ ।”

माघे सङ्क्रान्तिको पर्व मनाउने तयारीमा आफूहरु रहेपनि दुर्घटनामा कमल परेको खबरले आफूहरुको भोकप्यास हराएको स्थानीय छिमेकी ६१ वर्षीया कृष्णा रानाभाटले बताइन् । “हामी गाउँलेलाई अभिभावक नै गुमाएको जस्तो भएको छ,” रानाभाटले भनिन् ।

आफूहरुले क्याप्टेन कमलकी कान्छी आमा देवीलाई सम्झाउने र सान्त्वना दिने गर्दै आएको उनले बताइन् । गाउँमा ‘काजिबा’ भनेर कहलिएका वीरेन्द्र केसी र मीनाका जेठा छोरा क्याप्टेन कमल हुन् भने विनोद माइला र विदुर कान्छा छोरा हुन् । कमलका कल्पना, विन्दु, सरीता र सुनीता गरी चार बहिनी छन् । देवीको कोखबाट सुनीता जन्मेकी हुन् । वीरेन्द्र र मीना पोखरा तेर्सापट्टिमा बस्छन् । क्याप्टेन कमल बुढानीलकण्ठमा श्रीमती शिलु र कान्छा छोरा आर्यनसँगै बस्दै आएका थिए । जेठा छोरा सागर बैङ्ककमा थिए ।

क्याप्टेन कमलको मृत्युको शोकमा बुबाआमालगायत श्रीमती शिलु र छोराहरुलगायत अर्धचेत अवस्थामा छन् ।

क्याप्टेन कमल अनुभवी पाइटलमा गनिन्थे । उनी ७२ सिट हुने एटिआर विमानको प्रशिक्षक पाइलटसमेत थिए । नेपाल वायु सेवा निगममा लामो समय विमान उडाएका कमल निगम छाडेर यती एयरलाइन्समा आबद्ध भएका थिए । माघ १ गते ६८ यात्रुसहित चार चालका दलका सदस्य रहेको यतीको यही दुर्घटनाग्रस्त विमानले पुस ७ गते पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा परीक्षण उडान भरेको थियो । परीक्षण उडानको नेतृत्वसमेत क्याप्टेन कमलले गरेका थिए ।