राजनीति

मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन

By खबरहब

January 17, 2023

काठमाडौँ- मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन भएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा भएको मत बिभाजनबाट मण्डल सभामुखमा चयन भएका हुन् ।

मत विभाजनमा मण्डलको पक्षमा ७४ मत परेको थियो भने उनको विपक्षमा २९ मत पर्‍यो । आज बसेको प्रदेश सभा बैठकमा १ सय ३ सांसद उपस्थित थिए ।

मत विभाजनपछि जेष्ठ सदस्यका नाताले सभाका अध्यक्षता गरेका सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डल विजयी भएको घोषणा गरेका हुन् ।

मण्डललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका थिए ।

मण्डलको विरुद्धमा नेपाली कांग्रेसका जंगीलाल राय उम्मेदवार थिए । यद्यपि आवाश्यक मत नपुग्दा उनी पराजित भए ।