राजनीति

पत्रकार महासङ्घद्वारा राष्ट्रपति पौडेललाई बधाइ

By खबरहब

March 17, 2023

काठमाडौँ- नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो ।

सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरे । भेटमा महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकारजगतले भोग्दै आएका समस्याबारे जानकारी गराएको थियो ।

सो क्रममा राष्ट्रपति पौडेलले सही र सत्य तथ्य सूचना प्रवाहमा छाता सङ्गठनका रूपमा महासङ्घले निर्वाह गरेको भूमिकाको सराहना गरे । उनले सत्य तथ्य सूचना प्रवाहमा महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भनी कामना गरे ।

समाजमा भएका विकृति, विसङ्गतिप्रति पत्रकारजगत सचेत भएर कलम चलाई रहनुपर्नेमा उनको जोड थियो । ‘गतल सूचना प्रवाह हुँदा समस्या पैदा हुन सक्छ, त्यसप्रति पत्रकारजगत सचेत रहेर सही सूचना दिनुपर्छ’, उनले भने ।

महासङ्घका अध्यक्ष पोख्रेलले नेपाली पत्रकारको समस्या, अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार भएको बताए । भेटमा महासङ्घका महासचिव रोशन पुरीलगायत पदाधिकारी सहभागी थिए ।