समाचार

चर्चित पर्यटकीय गन्तव्य ढोरपाटनमा पुग्यो बस, पर्यटकलाई सहज

By खबरहब

March 17, 2023

गलकोट- यसै साता ग१ख ६२८ नम्बरको बस नवलपुरका पर्यटक बोकेर चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन पुग्यो । सडक समस्याका कारण यसअघि साना सवारीसाधन मात्रै चल्दै आएको ढोरपाटनमा पछिल्लो समय बसका कारण पर्यटकलाई सहज भएको छ । एक साताअघि मात्र पनि बागलुङ बजारबाट केही सञ्चारकर्मीसहित बोकेर बस ढोरपाटन गएको थियो ।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्र घुम्न पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ । उनीहरूलाई ढोरपाटनमा बस पुग्न थालेपछि सहज भएको पर्यटकलाई घोडा सफारी गराउँदै आएका स्थानीय मिनलाल विकले बताए ।

सडक साँघुरो हुँदा साना सवारीसाधनमा थोरै पर्यटक पुग्ने गरेकामा पछिल्ला दिनमा सडकमा केही सुधार भएपछि पर्यटक आगमन सहज भएको हो । ‘पहिलाभन्दा सडकको केही सास्ती हटेको छ, जोखिमका बाबजुद ढोरपाटनमा अहिले बस आउन थालेका छन्, पहिला साना सवारीसाधन जिप तथा भ्यानमा थोरै पर्यटक आउँथे अहिले बस चल्न थालेपछि एकै पटक २५/३० जनाको समूह ढोरपाटन आउने गरेका छन्’, उनले भने ।

घोडा सफारीका लागि विक जस्ता दुई दर्जनभन्दा बढी स्थानीयले घोडा पालेर राखेका छन् । ‘पर्यटक बढ्न थालेपछि अहिले घोडा सफारीसमेत फस्टाउँदो छ, दैनिक जसो एक हजार रुपैयाँ कमाइ हुन थाल्यो, कहिले अलि धेरै नै हुन्छ, पछिल्लो समय घोडामा चढ्ने, तस्बिर खिच्ने र टिकटक बनाउनेले गर्दा राम्रो आम्दानी हुने गरेको छ’, उनी भन्छन् ।

पर्यटक नआउँदा भने घोडामा घरायसी सामग्री ओसारपसार गर्ने गरिएको छ । पछिल्लो समय बसमा ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको पाइएको ढोरपाटन घुम्न पुगेका पर्यटक अनन्तबहादुर खड्काले बताए ।

उनले आफू बागलुङबाट बसमा चढेर ढोरपाटन घुम्न आएको जनाउँदै पहिलाभन्दा ढोरपाटन पुग्ने सडक केही सहज भएको जनाए ।

‘बर्खामा खोला बढ्छ, बुर्तिबाङबाट झन्डै ४० किलोमिटर सडक कच्ची छ, हिउँदमा बस चल्दोरहेछ, साना सवारीसाधनमा धेरै खर्च तिरेर ढोरपाटन पुग्नुभन्दा बसमा धेरै जना पुग्दा सस्तो पर्ने रहेछ’, खड्काले भने, ‘बस पुगेपछि ढोरपाटनमा धेरैको पहुँच पुग्नेछ । सडकको स्तरोन्नति गर्न भने बाँकी छ, ढोरपाटन–सालझन्डी सडक अप्ठ्यारो छ, अब भने पर्यटकको लागत घट्ने छ ।’

बागलुङबाट बुर्तिवाङसम्म पक्की र त्यहाँबाट ढोरपाटनसम्मको सडक कच्ची छ । कच्ची सडक भए पनि बस पुग्न थालेको सवारी चालक रमेश पौडेलले बताए । ‘म दोस्रो पटक बस ल्याएर पर्यटकसहित ढोरपाटन आए, केही सडक नै छ, बोबाङको भुजीखोला क्षेत्रमा केही सडक सुधार गर्न आवश्यक छ, तर देउरालीमा सडक चौडा बनाएका कारण बस मज्जाले उक्लियो’, चालक पौडेलले भने, ‘ठूला बस पुग्न ढोरपाटन मुस्किल छ, तर मिनीबस पुग्न थालेका छन्, हिउँदमा मात्रै बस पुगे पनि सडक स्तरोन्नतिसँगै बर्खामा समेत बस लैजाने व्यवस्था मिलाउन आवश्यक छ ।’

ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले ढोरपाटन पुग्ने सडकमा केही सुधार भए पनि बर्खामा भने सास्ती नै भएको बताउनुभयो । उनले सडकको मर्मत सम्भार नगरपालिकाले गर्दा अहिले बस पुग्ने अवस्था आए पनि सडक कालोपत्रका लागि सालझन्डी–ढोरपाटन सडक आयोजनाले कुनै चासो नदिएको बताए ।

‘सडक स्तरोन्नति हुन सकेको छैन, तर देउराली क्षेत्रमा सडकको घुम्ती चौडा पार्ने काम भएकाले बस पुग्न थालेका हुन्, बर्खामा बस पुग्न मात्रै होइन साना सवारीसाधनसमेत पुग्न समस्या हुन्छ, सडक स्तरोन्नति भए ढोरपाटनमा थामी नसक्नु पर्यटक आउने हाम्रो कल्पना हो’, उनले भने, ‘सडक नै पहिलो प्राथमिकता हो, ठूलो आयोजनाले काम गर्दैन, मर्मत सम्भार गरेको सडकमा बस गुड्न थालेका हुन्, तर यात्रा सहज भने छैन, पक्की सडक पुगे ढोरपाटनमा पर्यटकको चाप हुनेछ ।’