अन्तर्वार्ता

सुतिरहेको कांग्रेस उठाउन जुझारु नेताले नेतृत्व लिनुपर्छ

By खबरहब

July 17, 2023

कांग्रेस यतिबेला आन्तरिक रूपमा अलमलमा छ वा विवादमा छ। पार्टी नेतृत्वले कांग्रेसलाई अगाडि बढाउन नसकेको वा कांग्रेस-कांग्रेस जस्तो भएर अगाडि बढ्न नसकेको आरोप इतर पक्षले लगाइरहेका छन्। दुई-दुई महिनामा बस्नु पर्ने केन्द्रीय कमिटीको बैठक एक वर्षसम्म बस्न सकेको छैन। नेतृत्वले आफ्नो पक्षलाई काखी च्यापेको भन्दै आलोचना भइरहेको छ। भ्रष्टाचारको मुद्दा खेपिरहेकालाई पार्टीले निलम्बन गर्न नसकेको आरोपसमेत लागेको छ। महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा अब यो नेतृत्वबाट कांग्रेस अगाडि बढ्न नसक्ने भन्दै संसदीय दलको नेता फेर्ने तयारीमा जुटेका छन्। पार्टीका बैठक नहुँदा यस्ता अभिव्यक्ति विभिन्न औपचारिक कार्यक्रममार्फत् सार्वजनिक भइरहेका छन्। खासमा कांग्रेसमा के भइरहेको छ ? अबको निकास के हो ? यि र यस्तै विषयमा आधारित रहेर नेपाली कांग्रेसका नेता एवम् सांसद तेजुलाल चौधरीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसको अहिलेको विवाद केका लागि हो। नेतृत्वप्रति आक्रोश किन हो ? नेपाली कांग्रेस लोकतान्त्रिक तथा प्रजातान्त्रिक पार्टी भएकोले प्रत्येक समूहको आफ्नोआफ्नो विचार हुन्छ। त्यो विचार अनुसार पार्टी सत्ता सञ्चालन हुन्छ भन्ने छैन। कतिपय कुरा नेपाली कांग्रेसको विधान अनुसार पार्टी सञ्चालन नगरेको हुनाले केही साथी मिलेर पार्टी क्रियाशील हुनुपर्छ भन्नुभएको हो।

दुई-दुई महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठक एक वर्षमा पनि बस्न नसक्नुको कारण के हो ? समयमा बैठक बस्नलाई विभिन्न विषय बाधक बनेका छन्। संघीय चुनाव भएको सात महिना भइसकेको छ। स्थानीय तहको चुनाव एक वर्ष हुन लागेको छ। तर बैठक बस्न सकेको छैन। समयमै बस्नुपर्ने बैठक बस्न नसकेपछि विभिन्न प्रश्न उठ्न थालेका छन्। हाम्रा महामन्त्री र सहमहामन्त्रीले सभापतिलाई यो कुरामा ध्यानाकर्षण गराउनुपर्छ। पार्टीमा जुन हिसाबले काम हुनुपर्ने हो त्यो भएको छैन।

भ्रष्टाचारको मुद्दामा कारागार चलान भएका व्यक्तिलाई किन कांग्रेसले कारबाही गर्न सकेन ? नेपाली कांग्रेसले जुनसुकै व्यक्ति होस् सत्य तथ्यको आधारमा कारबाही गर्नुपर्छ भन्छ। यसको बारेमा केन्द्रीय कमिटी बैठक बस्नुपर्छ। तर त्यो भएको छैन। कांग्रेसले प्रारम्भिक चरणमा जुन काम गर्नुपर्ने हो त्यो गर्न सकेको छैन। अदालतले सफाइ दिएपछि कारबाही फुकुवा गर्न सकिन्छ। तर कारागार चलान भएका व्यक्तिलाई कारबाही गर्नैपर्छ। त्यो भएको छैन। त्यसलाई सुधार गरेर अगाडि जानुपर्छ।

इतर पक्षले त्यसमा नै प्रश्न उठाइरहेका छन्। संस्थापन पक्षले त्यसको जवाफ दिने कि भागेर हिँड्ने त ? भागेर हुँदैन। प्रश्न उठेपछि त्यसको जवाफ दिनुपर्छ। छलफल गर्नुपर्छ। छलफलबाट नै कुरा अगाडि बढ्छ। त्यसैले बैठक बसेर सबै कुराका समाधन गर्नतर्फ नेपाली कांग्रेस लाग्नु आवश्यक देखिन्छ।

कांग्रेस भित्र नेतृत्व परिवर्तनको कुरा आइरहेको छ, साँच्चै यो प्रश्नले कांग्रेसलाई कहाँसम्म लाग्छ होला ? नेतृत्व परिवर्तनका लागि नेपाली कांग्रेसको विधान र प्रक्रियामा जानुपर्ने हुन्छ। उहाँहरूले बोलिरहनु भएको छ, संसदीय दलको नेता परिवर्तन गरेर कांग्रेसलाई राम्रो बनाउनु हुन्छ भने त्यो राम्रो हो। तर नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको कारणले उसको विधान छ, प्रक्रिया छ। संसदीय दलको नेता परिवर्तन गर्न बहुमत चाहिन्छ। त्यस कारण यो तत्काल नै हामीले सम्भव देख्दैनौँ। महामन्त्रीले प्रयास गर्नुभएको छ। सफल हुनु होला।

त्यसैले सभापतिको परिवर्तनको लागि विशेष अधिवेशन हुनुपर्यो। महाधिवेशनले उसलाई व्यापक रूपमा अविश्वासको प्रस्ताव लगाउनुपर्यो। त्यसपछि एउटा प्रक्रियामा जानसक्छ। कांग्रेसका जुझारु साथीहरूले कांग्रेसलाई एक ढिक्का बनाउनुपर्छ । राम्रो बनाउनुपर्छ भन्नु राम्रो हो। किनभने कांग्रेस सुतिरहेको छ। जति सक्रिय हुनुपर्ने हो त्यति भएको छैन। पार्टीका जुझारु साथीहरुले सुतिरहेको पार्टी उठाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। चुनावमा पहिलो भए पनि सोचे अनुसारको बहुमत पाएको छैन। नयाँनयाँ पार्टी आइरहेका छन्। उनीहरूमा नयाँ जोस र उमंग छ। हाम्रा युवा नेतामा पनि जोश र उमंग देखिएको छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)