औषधी/उपचार

यो मौसममा जारको पानी उमालेर खानुपर्छ

By खबरहब

August 17, 2023

अहिले मनसुन चलिरहेको छ। यो मौसममा कति बेला पानी पर्छ वा कतिबेला घाम लाग्छ भनेर भन्न सकिँदैन। घाम लाग्दा लाग्दै पनि पानी परेर भिजाउँछ। यसरी भिज्दा स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सक बताउँछन्। यो परिवर्तन भइरहेको मौसमले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर पुर्याइरहेको हुन्छ। त्यसैले यो मौसममा हामीले रोग प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहन दैनिक खानपानमा बढी नै ध्यान दिनुपर्छ। परिवर्तन भइरहेको मौसमका कारण शारीरिक स्थितिमा निकै परिवर्तन हुने गर्दछ। त्यसैले यो मौसममा के कस्ता समस्याहरू देखा पर्छन् ? कसरी जोगिने ? आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्ने ? लगायतका विषयमा आधारित रहेर यसै विषयमा आधारित भएर खबरहबका लागि जनरल फिजिसियन डा. प्रशान्त त्रिपाठीसँग गरिएको कुराकानीको सम्पादित अंश :

वर्षातको समयमा स्वास्थ्यमा कस्ता समस्या देखिने गर्छन् ? यो सिजनमा हाम्रो स्वास्थ्यमा धेरै रोग देखा पर्छन्। विशेष गरेर यो मौसममा सङ्क्रमण हुने खालका रोग बढ्ने गरेका छन्। जसमा भाइरल फ्लु (रुघाखोकी लाग्ने, ज्वरो आउने) देखा परेका छन्। यसका साथै तापक्रम बढेसँगै विभिन्न सरुवा रोग, दूषित पानी तथा बासी सडे गलेका खाना खाँदा टाइफाइड, हेपाटाइटिस ‘ई’ र ‘ए’ झाडापखाला, हैजा र आउँ जस्ता रोग लाग्छन्।

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु जस्ता रोग बढी मात्रामा देखिने गर्छन्। यो मौसममा झिँगा भन्केका, राम्रो सफाइ नभएको ठाउँका खानेकुरा खानु हुँदैन । यसले स्वास्थ्यलाई राम्रो गर्दैन । सँगै यो मौसममाा रुघा लाग्ने खोकी लाग्ने, हाछ्यु लाग्ने, छालामा फोका डाबर आउने पनि हुनसक्छन्।

वर्षातमा हुने इन्फ्लुएन्जालाई कसरी बुझ्ने ? यो सिजनमा अर्थात् वर्षातमा धेरै इन्फुलुएन्जा हुने गर्छ। किनकी यो एउटा भाइरसले हुने रोग हो। तर, कुनै निश्चित समयमा भाइरल रुघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ। भाइरल सङ्क्रमण आफै निको हुने रोग हुन्। तर कतिपय अवस्थामा बिरामीलाई धेरै ज्वरो आउने, धेरै खोकी लाग्ने, स्वाँ स्वाँ हुने पनि हुनसक्छ। यो अवस्थामा घरमा नै बस्नु उपयुक्त हुँदैन। अस्पतालमा गएर चिकित्सकको सुझाव अनुसार उपचार गर्नुपर्छ। कहिलेकाहीँ भाइरल इन्फेक्सन भइरहेको अवस्थामा फेरि ब्याक्टेरीयल इन्फेक्सन पनि हुनसक्छ। इन्फुलुएन्जासँगै यो समयमा ब्याक्टेरियल सङ्क्रमण धेरै हुने गरेको पाइन्छ। ब्याक्टेरियल सङ्क्रमण जीवाणुबाट हुने गर्छ।

यस्ता समस्याले बालबालिका र वृद्ध वृद्धामा कस्तो असर गर्छ ? मौसमी फ्लुहरू एकबाट अर्कोमा सर्दै जाने हुन्छन्। त्यसकारण आफूले स्वास्थ्य सफा गरेन भने र सङ्क्रमित व्यक्तिको संसर्गमा पुग्यो भने एक बाट अर्कोमा सर्दै जान्छ। सरसफाइमा लापरबाहीका कारणले पनि रुघा झाडापखालाजस्ता रोगहरू लाग्ने गर्छ। जस्तो हात राम्ररी नधुँदा, ट्वाइलेट सफा नहुँदा पनि यस्तो हुन्छ। त्यसैले, अभिभावकले सरसफाइमा विशेष गरी ध्यान दिनुपर्छ। बालबालिकालाई छिट्टै डिहाइड्रेसन पनि हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, वृद्ध वृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई बढी असर हुने गर्छ। लामो समयदेखि कुनै रोग भएका व्यक्तिमा पनि सङ्क्रमण छिटो हुन्छ।

दूषित पानीका कारण नै हैजा लाग्ने हो ? विशेष गरेर हामीले कुनै पनि रोग लाग्न नदिन सरसफाइमा विशेष ध्यान दिनुपर्छ। दूषित पानीका कारण नै हैजा लाग्ने गरेको छ। अहिलेको समयमा पनि हात सफा गरौँ, सुरक्षित ठाउँमा दिसा पिसाब गरौँ। गाउँघरमा वर्षातका पानीका कारण खुला ठाउँका पानीका मुहानमा भल पस्ने हुँदा पानी शुद्ध हुँदैन। जसको कारण हैजा लाग्नसक्छ। त्यसैले पानी उमालेर खानुपर्छ। काठमाडौं लगायतका सहरमा पनि जारको पानी पनि उमालेर खान सकिन्छ। काँचो फलफूल, सागपात राम्ररी पखालेर खानुपर्छ। पानी फिल्टर गरेर, उमालेर मात्र पिउने बानी बसाल्नुपर्छ। सुरक्षित ठाउँमा दिसा पिसाब गर्ने बानी बसाल्यो भने पनि हैजाबाट बच्न सकिन्छ।

यो मौसममा सामान्य समस्या देखिएमा घरमै के उपचार गर्ने ? कसैलाई झाडापखाला लाग्यो भने शरीरमा भएको पानी र पोटासियम कम हुने गर्छ। त्यसले डिहाइड्रेसन हुने गर्छ। डिहाइड्रेसन हुँदा हाम्रो शरीरबाट गएको पानी फिर्ता ल्याउनुपर्छ। घरमा धेरै मात्रामा जीवनजल पानी बनाएर पिउनाले शरीरमा पानीको कमी हुन पाउँदैन। प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउनुपर्छ। तर, निरन्तर पातलो दिसा लागिरहेको छ, बिरामी सिकिस्त हुँदै गइरहेको छ भने तुरुन्तै स्वास्थ्य चौकी जानुपर्छ।

अहिले सङ्क्रमित रोगबाट कसरी बच्ने ? गर्मी मौसममा धेरै ठाउँका पानी शुद्ध नहुने भएकोले हामीले पानीलाई राम्ररी उमालेर मात्र पिउनुपर्छ। साथै राम्ररी फिल्टर गरेर सफा र किटाणुरहित बनाएर पनि खान सकिन्छ। समय समयमा हात धोइरहनु पर्दछ। जस्तो खाना खानु अघि साबुन पानीले सफासँग मिचीमिची अनिवार्य रूपमा हात धुने गर्नुपर्छ।

शौचालय वा बाहिर कतै सार्वजनिक स्थलमा गएर आएपछि पनि राम्ररी हात गोडा धुने गर्नुपर्छ। सकेसम्म बाहिरका खाना कम गर्ने र यदि बाहिर खानै परे भरपर्दो ठाउँमा मात्र खाने गर्नुपर्छ। सडे गलेको तथा बासी खाने कुरा खानु हुँदैन। जसले गर्दा सङ्क्रमित रोगबाट बच्न सकिन्छ। आफैले आफ्नो सरसफाइमा ध्यान दिन जरुरी हुन्छ।

शारीरिक व्यायाममा ध्यान दिने, खानपानमा ध्यान दिने। साथै घर वरिपरिको वातावरण पनि सफा राख्ने गर्नुपर्छ। लामखुट्टेको टोकाइबाट बच्न झुल लगाएर सुत्ने, पूरा बाहुलायुक्त लुगा लगाउने, झ्याल ढोकामा जालीको प्रयोग गर्ने, कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्ने। यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ।

घरको झ्याल ढोकामा तुलसीको बोट रोप्नाले पनि लामखुट्टेको प्रकोप कम हुन्छ। साथै मौसमी रोगबाट बच्न खानेकुरा राम्रो तरकारी फलको पर्याप्त मात्रामा सेवन गर्ने र लामो समय आफूलाई समस्या भइराख्यो भने तुरुन्त चिकित्सकलाई भेटेर उपयुक्त सल्लाह लिने गर्नुपर्छ।