देश/प्रदेश

कक्षा १२ पछि विदेशिनु भोलिका लागि गम्भीर संकट : मेयर प्रजापति

By खबरहब

September 17, 2023

भक्तपुर– भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कक्षा १२ उत्तीर्ण गरेपछि नै विदेश जाने अहिलेको विद्यार्थीको प्रवृत्तिले भविष्यमा गम्भीर संकट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

एभरेस्ट इंग्लिस स्कुल मिवाछेँ व्यासीमा शनिबार भएको एकदिने आठौँ विद्यार्थी गुणीय चक्रको उद्घाटन गर्दै ज्ञानको पवित्र मन्दिरको रुपमा रहेको विद्यालयलाई बन्द, हड्ताल र तालाबन्दी लगायतका अवाञ्छित गतिविधिबाट टाढा नै राख्न जरुरी रहेको उनको भनाइ छ ।

प्रमुख प्रजापतिले ज्ञानविज्ञानको केन्द्रको रुपमा अगाडि बढिरहेको भक्तपुरलाई शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा देशकै उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले काम गर्दै आइरहेको बताए । 

विद्यार्थीले परीक्षामा उच्च अंक प्राप्त गर्दैमा त्यो विद्यार्थीले समाजको लागि काम गर्छ भन्ने कुरा सत्य नहुन सक्छ भन्दै उनले विद्यार्थीमा नैतिक शिक्षाको धेरै खाँचो रहेको बताए ।

समाजलाई योगदान गर्न सक्ने जनशक्तिको खाँचो अहिले आवश्यकताबोध भएको बताउँदै उनले उच्च शिक्षा, रोजगारीको लागि विदेशिने सोचबाट विद्यार्थीलाई टाढा राख्नुपर्ने धारणा व्यक्त गरे । 

संघीयताको असल कार्यान्वयन भक्तपुरले गरिरहेको बताउँदै भक्तपुर नपाले समाजवादउन्मुख काम गर्दै आइरहेको र स्थानीय तहलाई नै अधिकारसम्पन्न गर्नुपर्ने उनको धारणा छ । 

विद्यार्थी र शिक्षकहरूले पनि देशको राजनीतिप्रति चासो राख्नुपर्ने बताउँदै बौद्धिक र प्रबुद्ध व्यक्तिहरूले आफ्नो व्यक्तिगत मात्र नभई सिंगो देशको भविष्यको चिन्ता गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

कार्यक्रममा एभरेस्ट इंग्लिस स्कुलका प्रधानाध्यापक भक्त राजभण्डारीले एसक्युसीको अवधारणाले विद्यार्थीहरुमा आत्मविश्वास जागउनुका साथै आफ्ना समस्या पहिचान गरी आफैँ समाधान गर्ने क्षमता अभिवृद्धि गरेको बताए । 

उनले स्कुलले देशभक्त अनुशासित विद्यार्थी उत्पादन गर्नेमा विशेष जोड दिँदै आएको बताउँदै एभरेष्टमा एसक्युसीको गठनले धेरै उपलब्धीहरू प्राप्त भएको बताए ।

सम्मेलनमा १८ वटा विद्यालयका ३३ समूह गरी दुई सय ४५ जना विद्यार्थीहरू सहभागी भएको जनाइएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक प्रतिनिधिहरूसहित करिव पाँच सय जनाको जमघट भएको जनाइएको छ ।