देश/प्रदेश

पाशुपत क्षेत्रमा मासु र मदिरा प्रयोग गर्न निषेध

By खबरहब

September 17, 2023

काठमाडौँ– पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा बिक्री वितरण तथा प्रयोगमा रोक लगाइएको छ । पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त वस्तुको बिक्री वितरणमा रोक लगाएको हो ।

प्रशासन कार्यालयले पूर्वमा गौशाला, मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।

रोक लगाइएको क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ उत्पादन, बिक्री वितरण, भण्डारण र सेवन गर्न आजदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कसैले अटेर गरी निषेधित क्षेत्रमा निषेध गरिएका वस्तुको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कारबाही हुने प्रशासन कार्यालयले जनाएको छ ।