आर्थिक

साउन महिनामा रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढ्यो

By खबरहब

September 17, 2023

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ पुगेको जनाएको छ ।

आइतबार आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले विप्रेषण आप्रवाह २५.८ प्रतिशतले वृद्धि भएको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्यामा १२.१ प्रतिशतले कमी आई ३९ हजार १ सय ५२ कायम भएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४ सय २३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।