देश/प्रदेश

नयाँ बसपार्कमा ‘हेल्थ डेस्क’ स्थापना

By खबरहब

October 17, 2023

काठमाडौँ– दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।

महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि  डेस्क स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेस्कमार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको बताए ।

हेल्थ डेस्कमा काठमाडौँ महानगरपालिका वडा नम्बर २६ को टोली खटाइएको छ । भट्टले दुई दिनमा पाँच सयभन्दा बढी यात्रुले स्वास्थ्य सेवा लिएको बताए । यस्तै, महानगरपालिकाको टोलीले नयाँ बसपार्कमा यात्रुका लागि पिउने पानीको समेत व्यवस्था मिलाएको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक नयाँ बसपार्कबाट ३० हजार यात्रु काठमाडौँबाट बाहिर गएको बताए । 

उनले आगामी एकदुई दिनमा उक्त सङ्ख्या बढ्नेसमेत उल्लेख गरे । अहिले दैनिक काठमाडौँको नयाँ बसपार्क भएर हजारौँ सार्वजनिक बस देशका विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् ।